नाइट्राभेट टेनको नशाको सुरमा आफ्नै साथीले मारेका थिए कैलालीका अर्जुनलाई

काठमाडौँ : जङ्गलमा रुखमा बाँधी टाउको काटेर हत्या गरिएका कैलालीका २५ वर्षिया अर्जुन दासको हत्यामा संलग्नमध्ये चार जना पक्राउ परेका छन्।हत्यापछि भागेर भारतको विभिन्न स्थानमा लुक्दै बसेका उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको समन्वयमा पक्राउ गरेर नेपाल ल्याएको हो। हत्यामा १० जना संलग्न रहेको भनिए पनि महाशाखाले बिहीबार बेलुका चार जनालाई पक्राउ गरेर शुक्रवार सार्वजनिक गर्यो।
प्रहरीले शुक्रवार कैलाली जानकी गाउँपालिका-९ का १९ वर्षीय मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, सोही ठाउँ बस्ने बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलीप दासलाई सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये भण्डारी मुख्य योजनाकार देखिएका छन्।
महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका चारै जनाले हराएको मोबाइलका विषयमा बुझ्न भनेर दासलाई नियन्त्रणमा लिएर जङ्गलमा लिएर गएर हत्या गरेको देखिएको छ।
पुस ३ गते उनीहरूले दासलाई कैलालीमा रहेको अमरावती सामुदायिक बनमा रुखमा बाँधेका थिए। भोलिपल्ट स्थानीयले टाउको काटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको दृश्य निकै भयावह थियो।
भण्डारी समूहले दासले मोबाइल चोरेको भन्दै कुटपिट गरेर रुखमा बाँधेका थिए। दास पनि लागु औषध प्रयोगकर्ता थिए। एसपी कोइरालाका अनुसार पक्राउ परेका सबै लागु औषध प्रयोगकर्ता रहेको खुलेको छ। उनीहरूले दासलाई रुखमा बाँधेर मोबाइल किन चोरेको भनेर कुटेका थिए। उसले चोरेको हैन भने पनि कुटपिट गरेर लागु औषधको नशाको सुरमा बिहान २ बजेतिर खुकुरीले घाँटी काटेर मारेको पक्राउ अभियुक्तहरूले स्विकारेको प्रहरीले दाबी गरेको छ।
'लागु औषधको डोज बढ्दै गएपछि उनीहरूले घाइते बनाएर रुखमा बाँधेको अर्जुनलाई मार्ने योजना बनाएका रहेछन्,' कोइरालाले पत्रकार सम्मेलनमा भने।
नाइट्राभेट टेनको नशामै हत्या
पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ परेकामध्ये मनोज भण्डारीलाई घटनाबारे खुलाउन लगाएका थिए। भण्डारीको दाबी अनुसार अर्जुन दास, कमल साउदको घरमा सँगै काम गर्ने गर्थ्यो। एक दिन बिहान कमलको मोबाइल हरायो। उनीहरूले मोबाइल दासले चोरेको अनुमान गरे। दासले मोबाइल चोरेर हर्के भाटलाई राख्न दिएका थिए। एक दिनपछि दासले मोबाइल चोरेको खुलेको थियो।
भण्डारीका अनुसार पहिल्यै कमलले सुमितलाई मोबाइल चोरेको भनेर कुटेको थियो। कमल पनि लागु औषध प्रयोगकर्ता हो। उसले कुटेको रिसमा २५ हजारको नाइट्राभेट उनीहरूले चोरेका थिए।
उनीहरूले दासका कारण सुमितले कुटाइखाएको भनेर बदला लिने योजना बनाएर उनीहरू सधैँ सामुदायिक बनमा बसेर लागु औषध खान्थे। घटनाको दिन दाससहित उनीहरू बसेर खाएपछि मोबाइलको कुरा निस्किएको थियो।
उसले हैन भनेपछि सबै मिलेर कुटे। भाग्छ भनेर रुखमा बाँधे। भण्डारीका अनुसार उनीहरूले बेलुका ६ बजेदेखि १२ बजेसम्म नाइट्राभेट खाए। नशामा चुर भएपछि मार्ने योजना बनाए।
भण्डारीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार उनीहरूको साथी सुशील मयालले घरबाट खुकुरी ल्याएर दिएर फर्किएको थियो। बिहान २ बजेतिर भण्डारी, दिलीप र सुमितले खुकुरीले गर्दनमा हानेर मारेर त्यही सुतेका थिए।
'त्यतिखेर के गर्यौँ केही मतलब थिएन। दुई जना साथीहरू सुतेकै थिएनन्। बिहान साढे ४ बजेतिर उनीहरूले हामीलाई उठाएपछि मान्छे मारेको थाहा भयो,' उनले पत्रकार सम्मेलनमा भने' त्यसपछि हामी भागेर दिल्ली गयौँ।'
भागे लगत्तै फोन गरेर चुनौती
यता जङ्गलमा दासको शव फेला परे पनि कसले हत्या गरेको हो एकिन भइसकेको थिएन। बेलुका भण्डारी समूहका केटा मोबाइल खोज्न घर आएकोसम्म खुलेको थियो। त्यसकै आधारमा उनीहरूमाथि शङ्का भएको थियो। उनीहरू गाउँमा पनि थिएनन्।
घटनाको केही दिनमा एक अडियो सार्वजनिक भयो जहाँ कसरी दासलाई मारिएको भन्दै सबै बताइएको थियो। अनि अन्यलाई पनि त्यसरी नै मार्ने धम्की दिइएको थियो। फोन गर्ने भण्डारी थिए। त्यसपछि सो घटनामा उनीहरू नै संलग्न रहेको भनेर खुल्यो।
उनीहरूले बेलाबेलामा प्रहरीलाई पक्राउ गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा भिडियो राखेर चुनौती दिन्थे। आखिर उनीहरू पक्राउ परे। एसपी कोइरालाले उनीहरूलाई भैरहवाको बोर्डरमा काम खोज्नेक्रममा आउँदा वैशाख १ गते राती स्थानीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेर ल्याइएको दाबी गरे।
घटनामा संलग्न अन्य ६ जना अझै फरार छन्।
वैशाख २, २०७९ शुक्रबार १५:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।