कैलालीका अर्जुन दासको हत्यामा संलग्न चार जना भारतबाट पक्राउ

कैलालीका अर्जुन दासको हत्यामा संलग्न चार जना भारतबाट पक्राउ

काठमाडौं : कैलालीका युवा अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।

कैलालीको जानकी गाउापालिका-९ का १९ वर्षीय मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, सोही ठाउँ बस्ने बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनमा २५ वर्षीय अर्जुन दासको घाँटी रेटी हत्या गरिएको थियो। अनुसन्धानका क्रममा लागुऔषध प्रयोग गर्ने युवाहरुले अर्जुनको हत्या गरेको खुलेको थियो।

उनीहरुले मोबाइल चोरी गरेको भन्दै अर्जुनलाई जंगलमा ल्याएर रुखमा बाँधी कुटपिट गरेका थिए। रुखमा बाँधेर खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

हत्या गरेकै दिन घटनाका मुख्य अभियुक्त भनिएका मनोज भण्डारी सहितका युवा भारत भागेका थिए। 

हत्यापछि उनीहरु भारतको मुम्बई पुगेको र त्यहाँबाट गोवामा गएर लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली टोली मुम्बई पुगेको थियो। 
उनीहरुको खोजीका लागि अपराध महाशाखाको टोली समेत परिचालित भएको थियो। उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेहलियास्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। 

वैशाख २, २०७९ शुक्रबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।