सार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढाइएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो।

बिहीबारदेखि बढाइएको नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ। यसअघि न्यूनतम १८ रुपैयाँ थियो।

त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

यस्तै ट्याक्सीमा सुरुको न्यूनतम ५० रुपैयाँ र प्रति मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ। बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइने छ। 

बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ। 

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ।

वैशाख २, २०७९ शुक्रबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।