एमालेबाट काठमाडौँ महानगरको मेयरमा विद्यासुन्दरको नाम, स्थापित र देउला पनि प्रतिस्पर्धामा

काठमाडौँ : एकल नाममा सहमति हुन नसकेपछि एमाले महानगर कमिटीले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारमा चार जनाको नाम सिफारिस गरेको छ।
सिफारिसमा अति अलोकप्रिय वर्तमान मेयर विद्यासुन्दर शाक्यको नाम पनि छ। शाक्यसँगै कमिटीले बागमती प्रदेशका पूर्व मन्त्री तथा काठमाडौँ महानगरका पूर्व मेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए।
स्थापित र शाक्य बाहेकका देउला महानगर कमिटीका अध्यक्ष हुन् भने पन्त सहकारी विभागको सदस्य हुन्। चार जनाको नाम सिफारिस भए पनि शाक्य र स्थापितमध्ये एक जना उम्मेदवार हुने सम्भावना देखिन्छ। गत स्थानीय तहको निर्वाचनमा स्थापितले मेयरमा चासो राखेका थिए। तर पार्टीले उनलाई प्रदेशमा पठायो। केही समय मन्त्री बने पनि विवादपछि उनी पूर्व मन्त्री बने।
शाक्य महानगरका मेयरहरुमध्ये सबैभन्दा अलोकप्रिय बने। उनको कार्यकालमा काठमाडौँवासीले कुनै नयाँ परिवर्तनको अनुभव गर्न सकेनन्। उनी योजनाहिन नेतृत्व देखिए। शाक्य र पन्त दुबै नयाँ अनुहार हुन्।
पाँच दलको गठबन्धन रहेकाले एमालेले काठमाडौँ महानगरमा अन्य दलको मतदाताको समेत भोट तान्न सक्ने उम्मेदवार चयन गर्नसक्छ। यी चारमध्ये चर्चाका हिसाबमा स्थापित अगाडि देखिन्छन्।
महानगर कमिटीले सिफारिस गरेको नाम जिल्ला कमिटीले तय गर्नेछ। सके सर्वसम्मत नगरे निर्वाचनबाट एकल उम्मेदवार चयन गर्न सक्नेछ। एकल उम्मेदवार चयन नभए केन्द्रीय कमिटीमा नाम पठाउनेछ।
यस अगाडि नै महानगर र उपमहानगरको उम्मेदवार केन्द्रीय कमिटीले टुङ्गो लगाउने मापदण्ड बनिसकेको छ।
वैशाख १, २०७९ बिहीबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।