प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छन्। नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन्। 

मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गरे। यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उनको भनाइ छ। सन्देशमा भनिएको छ, 'सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली करिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ। ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्त्व दिएको छ।'

सो सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्त्व बुझेर प्रदेशको विकासमा योगदान पुर्याउन पनि आग्रह गरेका छन्।

वैशाख १, २०७९ बिहीबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।