रुसी सेनाहरूले युक्रेनीमाथि गरेका यौन हिंसाका डरलाग्दा तीन घटना
एजेन्सी : रुसी सेनाहरू अब कहिले पनि मनको चोटहरूबाट बाहिर निस्कन नसक्ने जिन्दगीहरूलाई छोडेर युक्रेनको राजधानी कीवबाट बाहिरिएका छन्। बिबिसीको टोलीले त्यहाँको स्थानीयसँग गरेको कुराकानीमा धेरै जसो महिलाहरू पीडित भएको पाइयो। जसमा उनीहरूले आफूमाथि रुसी सेनाले गरेको बलात्कारका घटनाहरू समावेश गरेका छन्।
नोट : यस रिपोर्टमा यौन हिंसासँग सम्बन्धित रहेका विचलित पारिदिने घटनाहरू समावेश छन्।
घटना नं १
कीवको करिब ७० किलोमिटर टाढा रहेको पश्चिम दिशामा एउटा सुनसान ग्रामीण क्षेत्रमा ५० वर्षीय एना (परिवर्तित नाम) बस्छिन्। मार्च ७ मा एना आफ्नो श्रीमानसँग घरमै बसिरहेकी थिइन्। त्यत्तिकैमा केही विदेशी सैनिकहरू उनको घरमा आए।
उनी भन्छिन्, 'उनीहरूले बन्दुक बोकेका थिए। एक जनाले बन्दुक ताकेर मलाई एउटा नजिकैको घरमा लगेर गयो। उसले मलाई ’आफ्नो कपडा खोल नत्र गोली हान्दिन्छु’ भने। उसले मलाई लगातार धम्की दिइनै रह्यो। र त्यसपछि मेरो बलात्कार गर्न सुरु गर्यो।’
उनलाई हमला गर्ने व्यक्ति भर्खरको, दुब्लो पातलो, र रुससँग सम्बन्धित चेचन लडाकु रहेको उनी बताउँछिन्। उनी भन्छिन्, 'उसले मेरो बलात्कार गरिराखेको बेला ४ जना अरू सैनिक पनि आएका थिए। त्यति खेर अब मलाई बाँच्छु जस्तो लागेको थिएन। तर, उनीहरूले त्यो सैनिकलाई बाहिर लगेर गए र त्यसपछि मैले अहिलेसम्म त्यसलाई देखेको छैन।'
रुसी सैनिककै अर्को टोलीले उसलाई बचाएको उनी बताउँछिन्। त्यसपछि एना जब घर पुगिन् उनले आफ्नो श्रीमान् घायल भएको देखिन्। उनको पेटमा गोली लागेको थियो। एनाका अनुसार, उनको श्रीमान् उनलाई बचाउन पछि-पछि आउँदा उनीहरूले गोली चलाएका हुन्।
त्यसपछि एना र उनको श्रीमान् आफ्नो छिमेकीको घरमा बस्न गए। तर बाहिर झडप जारी रहेको कारण उनको श्रीमानलाई अस्पताल पुर्याउन सकिएन र दुई दिन पछि उनको मृत्यु भयो। आफ्नो दुख कुरा सुनाउँदा उनको आँखाबाट आशु रोकिएका छैनन्। उनले आफ्नो घर पछाडि छिमेकीको सहयोगमा श्रीमान्लाई गाडिएको ठाउँ देखाइन्। एना अहिले स्थानीय अस्पतालको सम्पर्कमा रहेर मानसिक परामर्श लिइरहेकी छिन्।
उनलाई बचाउने सैनिकहरू केही दिनसम्म उनकै घरमा बसे। सैनिकहरूले बन्दुक देखाउँदै आफ्नो श्रीमान्को समान मागेको एनाको भनाई छ। उनी भन्छिन्, 'जब उनीहरू मेरो घरबाट गए त्यसपछि मैले ड्रग्स लगायतका लागूपदार्थहरू भेटे। उनीहरू प्राय नशामै रहन्थे। उनीहरू प्रायजसो हत्यारा, बलात्कारी र लुटेराहरुनै थिए। केही केही मात्र अलि असल थिए।’
घटना नं २
एनाको घरबाट अलिकति टाढा यस्तै डरलाग्दो कहानी सुन्नमा आयो। त्यहाँ एउटा महिलालाई कथित रूपमा बलात्कार गरेर हत्या गरेको पाइयो। यस घटनामा संलग्न व्यक्ति एनाकै बलात्कारी भएको छिमेकीहरू बताउँछन्। यो घटना एनाको घरमा जानु भन्दा अगाडी घटेको उनीहरूको भनाई छ। छिमेकीहरूका अनुसार हत्या भएको महिलाको उमेर ४० को आसपास थियो। उनलाई आफ्नो घर नजिकको खाली कोठामा लगेर गए। जहाँको घरधनीहरू युद्ध सुरु हुनु भन्दा अगाडी नै घर छोडेर गइसकेका थिए।
एकदमै मिहिन तरिकामा सजिएको त्यो घरको एउटा चिटिक्क परेको कोठा अब खतरनाक घटना घटेको क्राईम सिन बनेको छ। त्यहाँको सिरक र डस्नामा रगत लतपतिएको छ। कोठाको कुनामा एउटा सिसामा लिपस्टिकले केही लेखिएको थियो। यस्तो लाग्छ कि त्यसमार्फत पीडितलाई गाडिएको ठाउँको बारेमा जानकारी लेखिएको छ।
छिमेकी ओक्सानाका अनुसार उक्त महिलाको शव फेला पारेका रुसी सैनिकहरूले यो नोट छोडेका थिए। त्यस पछि उनीहरुलेनै महिलालाई गाडेका थिए। उनी भन्छिन्, ' उनीहरू (रुसी सैनिक)ले मलाई भने, ’यो महिलामाथि बलात्कार भएको थियो र यसको घाँटी काटिएको थियो। धेरै रगत बगेको कारण उनको मृत्यु भयो।’
त्यो महिलालाई सोही घरको बगैँचामा पुरिएको छ। बिबिसी टोली पुगेको १ दिन पछि प्रहरीले उनको शव बाहिर निकालेका थिए। त्यो महिलाको शरीरमा कुनै पनि कपडा थिएन र गर्दनमा एउटा लामो काटिएको खत देखिएको थियो।
घटना नं ३
कीव क्षेत्रको प्रहरी प्रमुख नेबयतोफले उनीहरूको विभागले पनि राजधानी भन्दा ५० किलोमिटर टाढा यस्तै घटनाको छानबिन गरिरहेको बताएका छन्। यस घटनामा एउटा परिवार आफ्नो सानो बच्चाको साथ गाउँको किनारामा बस्ने गर्थ्यो। नेबयतोफले भन्छन्,' ९ मार्चमा रुसी सेनाको कयौँ सैनिकहरू उनीहरूको घरमा पसे। श्रीमान्ले आफ्नो बच्चा र श्रीमतीलाई बचाउन कोसिस गरेको कारण उनलाई घर बाहिर निकालेर गोली हान्दियो। त्यसपछि बारम्बार श्रीमतीमाथि बलात्कार गरियो। उनीहरू जाने आउने गर्न थाले। उनीहरू ३ पटकसम्म सो महिलाको बलात्कार गर्न भनेर आएको बताइएको छ। प्रतिरोध गर्यो भने बच्चालाई नोक्सान पुर्याउने धम्कि पाए पछि सो महिला पटक-पटक बलात्कृत हुन बाध्य भइन्।’
सैनिकहरू यस घरबाट बिहिरिंदा महिलाको घरमा आगो लगिदियो र घरको कुकुरलाई समेत गोली हानेर मार्दियो । तर, सो महिला र उनको बच्चा बाँच्न सफल भए। नेबयतोफका अनुसार उनको टोलीहरू मिलेर सो महिलाको बयान लिँदा उनले यो सब कुरा बताएकी हुन्।
प्रहरीहरू केही समयदेखि उक्त जलेको घरमा अनुसन्धान गरिरहेका छन्। तर यस क्षेत्रमा त्यो जलेको घर र जलिसकेको पुरानो यादहरू मात्र बाँकी छन्। खरानीको थुप्रोमा बच्चाको साइकल, खेलौना, कुकुर बाँध्ने जन्जिर र जाडोमा लगाउने महिलाको श्रीमान्को जुत्ता मात्र फेला परेको प्रहरीले जनाएको छ।
सो महिलाको छिमेकीहरूले उनको श्रीमान्लाई बगैँचामा पुरिएको भए पनि प्रहरीले उनको शव अनुसन्धानका लागि बाहिर निकालेको छ। प्रहरीका अनुसार उनीहरू यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर जान चाहन्छन्।
युद्धमा भएको अपराधहरूको जाँच
युक्रेनको मानवअधिकारकर्मी ओमबुड्समैन ल्युडम्याला डेनिसोवा यस्ता घटनाहरूको छानबिन जारी रहेको बताउँछन्। उनी भन्छन्,' बूचामा रुसी सैनिकले कब्जा गरेको समयमा एउटा बिल्डिङमा १४ देखि २४ वर्षीयको २५ जना केटीहरूमाथि बारम्बार बलात्कार भएको पाइएको छ। उनीहरू मध्ये ९ जना गर्भवती छन्।’
यसबारेमा रुसी सैनिकहरूसँग डेनिसोवाले कुरा गर्दा उनीहरूले भने,’उनीहरूसँग तबसम्म बलात्कार भइरहन्छ जबसम्म ती महिलाहरूले अरूसँग शारीरिक सम्पर्क राख्नको बारेमा सोच्न छोड्छन्। जस पश्चात् उनीहरूले युक्रेनी बच्चालाई जन्म दिन सक्दैनन्।’
उनलाई बारम्बार सपोर्ट हेल्प्लाईन, टेलिग्राम लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा मेसेज आएको भन्दै उनी भन्छन्, ’एक जना २५ वर्षीय महिलाले हामीलाई फोन गरिन्। फोनमा उनले आफ्नो १६ वर्षीय बहिनीमाथि आफ्नै अगाडी सडकमा बलात्कार भएको जानकारी दिइन्। बलात्कार गर्दा उनीहरूले ’हरेक नाजी वेश्याको हालत यस्तै हुन्छ’ भनेर ठुलो ठुलो स्वरले कराएको उनले सुनाइन्।’
बिबिसी टोलीले युद्धको समयमा रुसी सैनिकहरूले गरेको यौन अपराधको बारेमा अनुसन्धान गर्न सम्भव छ भनेर प्रश्न गर्दा डेनिसोवा भन्छन्, ’अहिले तत्कालको लागि यो सम्भव छैन। किन भने धेरै मान्छेहरू त हामीलाई यस्ता घटनाको बारेमा बताउन पनि चाहँदैनन्। उनीहरू तयार छैनन्। उनीहरूमा भएको अपराधको बारेमा बोल्न चाहँदैनन्। यसमा प्राय मानिसहरू मनोवैज्ञानिक सहयोग मागिरहेका छन्। हामी यस्तो घटनाहरूको तबसम्म जाहेरी लिन सक्दैनौ जबसम्म उनीहरू आफ्नो बयान दिन खोज्दैनन्।’
युक्रेनले संयुक्त राष्ट्रलाई एक विशेष ट्रिब्युनल बनाएर रुसको राष्ट्रपति भ्ल्यादिमिर पुटिनको विरुद्ध र युद्धमा भएको यौन अपराधहरूबारे विशेष अनुसन्धान गर्न माग गर्नुपर्ने उनको भनाई छ।
एना पुटिनसँग प्रश्न गर्न चाहन्छिन्,’यो सब किन भइरहेको छ? हामी अहिलेको समयमा आएर पनि शान्तिपूर्ण वार्ता गर्न सक्दैनौ ? किन यसरी कब्जा गरेर हत्या गरिरहेका छन्?’
साभार : बिबिसी
वैशाख १, २०७९ बिहीबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।