२०७९ निर्वाचन वर्ष : राष्ट्रपति

२०७९ निर्वाचन वर्ष : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ निर्वाचन वर्ष भएको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्वाचन सम्पन्न गर्नुपर्ने बताएकी छिन्।

राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा दिएको शुभकामना सन्देशमा स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम अभ्यास भएकोले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख छ।


राष्ट्रपतिको सन्देश
हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौँ। तसर्थ नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो। कोभिड–१९ को महामारीले गत वर्ष मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतीहरू थप्यो।

अनपेक्षित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूमा नोक्सानी हुन पुग्यो। नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक छ।

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्छ। ठुलो सङ्ख्यामा बिदेसिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरहरूको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाई गरिनु हुँदैन। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय‚ प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।

प्रकृतिले हामीलाई वरदानको रूपमा दिएका हिमाल‚ पहाड‚ तराई तथा जलस्रोत एवं जैविक विविधतामाथि हामी स्वयम्‌को क्रियाकलाप र जलवायु परिवर्तनले नकारात्मक प्रभाव पारिरहेको छ। प्रकृति प्रदत्त स्रोतहरूको दिगो व्यवस्थापन एवं उपयोग मार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपरेको छ।


विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ। स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम अभ्यास भएको हुनाले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी बनेको छ।

अन्तमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्‌भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोस, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु।

वैशाख १, २०७९ बिहीबार १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।