सातपत्रे जङ्गलमा कुहिएको शव फेला

महोत्तरीः जिल्लाको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित बिपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भीरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो।
नाम, थर, वतन नखुलेका अन्दाजी ५०/५५ वर्षका पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि ईलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली उक्त शव फेला परेको स्थानतिर गएको थियो। हाल शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
वैशाख १, २०७९ बिहीबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।