तीन बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

तीन बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको पार्टीको टोलीले भेटवार्ता गरेको छ। भेटका क्रममा सरकारकोतर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। भेटमा मुख्यगरी सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे कुराकानी भएको बताइएको छ। 

भेटका क्रममा नेकपाका नेताले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुङ्गोमा पुर्याउने आग्रह गरेका थिए। सोही अवसरमा नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए। 

वार्तामा नेकपा बैठकको निर्णयअनुरूप निर्वाचनमा भाग लिएमा सहजीकरण गर्न सरकार तयार रहेको सरकारी पक्षले बताएको थियो। वार्तामा सरकारी पक्षले नेकपा निर्वाचनमा माग लिने भएमा निर्वाचन आयोगमा दल दर्ता, बन्दी नेता कार्यकर्ता रिहाइ, छुट मतदाता नामावली थप गर्न पहल गर्न सकिने बताएको थियो।

नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुने बताएका थिए । नेकपा र तत्कालीन सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। 

सहमतिमा दुवै पक्षले राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको थियो। सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध यस अघि नै फुकुवा गरिसकेको छ। 

चैत ३०, २०७८ बुधबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।