उम्मेदवारको टुंगो लगाउन कांग्रेसले सहमहामन्त्रीलाई सात प्रदेशमा खटाउने

उम्मेदवारको टुंगो लगाउन कांग्रेसले सहमहामन्त्रीलाई सात प्रदेशमा खटाउने

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ।

आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो।

उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ । वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ।

आजको बैठकमा घोषणपत्रमा भएका मुल विषयबस्तु महामन्त्री गगन थापाले गरेपछि कार्यसम्पादन सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता प्रकाश शरण महतले बताए। 

केन्द्रीय सदस्यहरूलाई महामन्त्रीले प्रस्तुत गरेको विषयवस्तु मेल गर्ने र त्यसबाट सुझाव लिएपछि घोषणापत्रको मस्यौदा परिमार्जन सहित पारित गर्ने निर्णय भएको उनले बताए। 

कतिपय समानुपातिक सूचिमा बसेका साथीहरू स्थानिय तहमा उम्मेदवार बन्न इच्छा देखाएको हुनाले ऐन बन्दसूचिमा नहटि उमेदवार बन्न नपाउने व्यवस्था भएकाले त्यी आकाक्षीहरूको बन्द सूचिबाट नाम हटाउन कार्यसमितिबाट पारित गरेर निर्वाचन आयोगलाई जानकारी गराउने समेत निर्णय भएको प्रवक्ता महतले जानकारी दिए। 

यस्तै बैठकले ३ गतेभित्र स्थानीय तहमा गठबन्धन गर्ने ठाउँमा सम्बन्धित संयन्त्रले टुंगो लगाउने र महानगरपालिका र उपमहानगरपालिकालाई केन्द्रले टुंगो लगाउने निर्णय पनि गरेको छ।

चैत ३०, २०७८ बुधबार २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।