नेपाल परिवार दलले सूर्य चिन्हबाट चुनाव लड्ने, एमालेसँग भयो ५ बुँदे सहमति

नेपाल परिवार दलले सूर्य चिन्हबाट चुनाव लड्ने, एमालेसँग भयो ५ बुँदे सहमति

काठमाडौँ : सत्ता साझेदार पाँच दलले स्थानीय तहमा साझा उम्मेदवार उठाउने र गठबन्धनका दलहरू बाहेकका दलसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेसँगै ठूलो दल एमालेले पनि अन्य दलसँग चुनावी तालमेल थालेको छ। एमालेले नेपाल परिवार दलसँग स्थानीय तहको चुनावमा गठबन्धन गर्ने पाँच बुँदे सहमति गरेको छ।

एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ। 

नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो। सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन्। निर्वाचनमा विजयी भएपश्चात् भने नेपाल परिवार दलमै आबद्ध हुनेछन्। 

देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरूलाई नेकपा एमालेले सघाउने सहमति भएको छ।

नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ। जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ–आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रूपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन्। 

यस अधि एमालेले स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि सहमति गरेको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन्। राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

चैत ३०, २०७८ बुधबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।