माओवादी प्रचार सामग्रीमा कुलमानको तस्बिर दुरुपयोग, कुलमानको असहमति, आलोचनापछि तस्बिर हटाइयो

काठमाडौं : माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको चुनावी पोस्टर सार्वजनिक गरेपछि बुधबार बिहानैदेखि यसै विषयमा चर्चा चल्यो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा प्रचण्ड, जनार्दन शर्मा र घिसिङको पनि फोटो थियो।
तीन जनाको तस्बिर राखिएको पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ। ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको सो तस्बिरमा घिसिङको फोटो दुरुपयोग गरिएको थियो।
घिसिङको फोटो सहितको तस्बिर माओवादीका नेता तथा कार्यकर्ताले समाजिक सञ्जालमा सेयर समेत गरेका थिए।
घिसिङ सरकारी निकायको जिम्मेवार व्यक्ति भएकोले यस्ता व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रचार प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नहुने निर्वाचन आचारसिंहता २०७८ मा उल्लेख छ।
प्रचार सामग्रीमा आफ्नो समेत तस्बिर राखिएकोमा कुलमान घिसिङले भने आपत्ति जनाएका छन्। आफूलाई सोध्दै नसोधी आफ्नो तस्बिर राखिएको उनले बताए।
यसैबीच माओवादी केन्द्रले निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको कुलमानको तस्बिर हटाएको छ। सर्वत्र विरोध भएपछि विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान सहितको फोटो राखेर बनाएको प्रचार सामग्री परिवर्तन गरिएको हो।
चैत ३०, २०७८ बुधबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।