बेलायतका प्रधानमन्त्री प्रहरी कारबाहीमा

बेलायतका प्रधानमन्त्री प्रहरी कारबाहीमा

लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ।

लकडाउनका बेला नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। 

घटना केही समय अगाडि नै भएको भए पनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ। 

'जोनसन र सुनाकलाई कारबाही सम्बन्धी सूचना पठाइएको छ। उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,' एक सरकारी अधिकारीले भने। 

देशभरी कोरोना भाइरसको महामारी फैलिएकाले लकडाउन लागू भएको बेला सन् २०२० को मे २० मा उनले नियम उलङ्घन गरेको प्रहरीको भनाइ छ। 

प्रहरीले जरिवाना तिराउनुपर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाइ छ। 

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनुपर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री जोनसनले पटकपटक नियम उलङ्घन गरेको उनको आरोप छ।

चैत ३०, २०७८ बुधबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।