पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शरिफद्वारा नयाँ मन्त्रीहरू नियुक्त

इस्लामावाद : पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्।
सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो-जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ।
त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ।
मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ। नयाँ सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ।
तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
विपक्षी दलको नेतृत्व गर्दै सरकारमा आएका ७० वर्षीय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन्। लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए।
चैत ३०, २०७८ बुधबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।