धितोपत्र बोर्डमा नयाँ ११ कम्पनी थपिए, कम्पनीको सङ्ख्या २ सय २८

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा धितोपत्र बोर्डमा ११ वटा नयाँ कम्पनी थपिएका छन्। बैङ्कले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्ष फागुनसम्म सूचीकृत कम्पनीको सङ्ख्या २ सय १७ थियो। फागुनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २ सय २८ पुगेको छ।
प्रतिवेदनमा उल्लेख भए अनुसार १ सय ४४ बैङ्क तथा वित्तीय तथा बिमा कम्पनी सूचीकृत भएका छन्। जलविद्युत् सम्बन्धी कम्पनी ४७ , उत्पादन तथा प्रशोधन उद्योग सम्बन्धी १९, लगानी सम्बन्धी कम्पनी ६, होटेल ५, व्यापारिक संस्था ४ र अन्य समूहमा ३ वटा कम्पनी रहेको छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीहरूमध्ये बैङ्क तथा वित्तीय संस्था तथा बिमा कम्पनीले धितोपत्र बजारको ६६ प्रतिशत हिस्सा ओगटेका छन्। जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
गत वर्ष नेप्से सूचकाङ्क २४५८.५ मा रहेको थियो। फागुन मसान्तमा सूचकाङ्क २६६८.१ पुगेको छ। नेपाल स्टक एक्सचेन्जमा फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य ६ सय ५१ अर्ब २१ करोड छ।
चैत २९, २०७८ मंगलबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।