विश्वका एक चौथाइ मानिसले चरम गरिबीको सामना गर्नुपर्ने अक्सफामको चेतावनी

विश्वका एक चौथाइ मानिसले चरम गरिबीको सामना गर्नुपर्ने अक्सफामको चेतावनी

एजेन्सीः रुसले युक्रेनमाथि गरेको आक्रमणपछि संसारभर खाद्य सामग्रीमा भएको मूल्य बृद्धिले संसारका एक चौथाइ मानिसले चरम गरिबीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय परोपकारी संगठन अक्सफामले चेतावनी दिएको छ।

खाद्यान्न र उर्जा एवम् इन्धनमा बढिरहेको मूल्य वृद्धिका कारण संसारका एक चौथाइ भन्दा बढी मानिसले चरम गरिबीको सामना गर्नुपर्ने भन्दै अक्सफामले हालै चेतावनी दिएको हो। आगामी हप्ता हुन लागेको विश्व बैक र आइएमएफको स्प्रिङ बैठकअघि मंगलबार अक्फामले एक रिपोर्ट सार्वजनिक गर्दै सो चेतावनी दिएको हो। 

विश्व कोभिड महामारीले आर्थिक संकट निम्त्याएका बेला रुस–युक्रेन युद्धले गरिब मुलुकमा भोकमरी र गरिबीको नयाँ चुनौती थपेको अक्सफामले बताएको छ। साथै गरिबीको सामना गर्न गरिब मुलुकहरूका लागि तत्काल अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने र ती मुलुकहरूले बेहोरिरहेको तिर्नुपर्ने ऋण घटाउनुपर्ने माग अक्सफामले गरेको छ। 

‘तत्काल कदम चालिएन भने हाम्रै आँखा अगाडि मानिसहरूमा भोकमरी वृद्धि हुनेछ भने संसारका एक अर्ब मानिसमा एक चौथाईभन्दा बढिले चरम गरिबीको सामना गर्नुपर्नेछ’ रिपोर्ट सार्वजनिक गर्दै अक्सफाम इन्टरनेसनलका कार्यकारी निर्देशक ग्याब्रियला बुचरले भनेकी छन्, ‘ती मुलुकहरूले सरकारको उचित कदम र योजनाको कमीका कारण गरिबी र भोकमरीको सामना गर्नुपर्ने छ।’ 

तत्कालका लागि यो वर्ष र अर्को वर्षको ऋण चुक्ता रद्ध गर्दा ऋणमा डुबेका दर्जनौ मुलुकहरूलाई केही हदसम्म राहत मिल्ने अक्सफामले बताएको छ। यदि ऋण भार बढी बोकेका गरिब मुलुकहरूलाई केही वर्ष साथ दिएमा मानवीय सहायता मिल्नेसमेत अक्सफामले बताएको छ। 

विश्व कोभिड महामारीका कारण संसारभर करिब १९ करोड ८० लाख (१९८ मिलियन) मानिस चरम गरिबीतर्फ धकेलिसकेको अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ। तर अक्सफामले भने युक्रेनमाथि रुसको आक्रमणका कारण मात्र संसारभर ६० करोड ५० लाखभन्दा बढी मानिस भोकमरी र गरिबीको जोखिममा रहेको अनुमान गरेको छ। 

साथै अक्सफामले युद्ध र कोभिड महामारीको समयमा पनि नाफा कमाएका धनी मुलुक र संसारका ठुला कम्पनीहरूमाथि कर बढाउन पनि आह्वान गरेको छ। गएको हप्ता मात्र संयुक्त राष्ट्रिय खाद्य एवम् कृषि संगठनले एक रिपोर्ट सार्वजनिक गर्दै युक्रेनले खाद्यान्न उपभोगलाई हालसम्मकै युद्ध भन्दा महँगो बनाएको बताएको थियो। 

चैत २९, २०७८ मंगलबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।