मतदाताले परिवर्तन चाहेका छन्ः  प्रवक्ता लावती

मतदाताले परिवर्तन चाहेका छन्ः  प्रवक्ता लावती

ताप्लेजुङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने बताएका छन्। जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दाबी गरे। 

‘नेपाली जनता विकल्प चाहन्छन्।  जनताले विगतभन्दा फरक रूपमा मतदान गर्नेछन्। जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने।

भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने दाबी गरे।

पाथीभरा याङवरक गाउँपालिका स्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै लावतीले सो विचार व्यक्त गरेका हुन्। 

‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ। यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्ने छ । राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैन, गर्न दिने छैन । समाजको यो महारोग पूर्ण नियन्त्रण गर्नेछ,’ उनले भने। लावतीले राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गर्ने बताए।
 

चैत २९, २०७८ मंगलबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।