गभर्नरलाई निलम्बन गर्नु सरकारको गैरजिम्मेवारीपन : नेता कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गभर्नरलाई निलम्बन गर्नु गैरजिम्मेवारीपन भएको बताएका छन्। मंगलबार संघीय राजधानी काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागेको अवस्थामा गभर्नर निलम्बन हुनु सरकारको गैरजिम्मेवारीपन भएको बताएका हुन् ।
उनले जुनसुकै देशमा पनि राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट हुने भन्दै सामान्य ४० करोड रुपैयाँको विषयलाई लिएर गभर्नरलाई नै निलम्बन सरकारले गर्न नमिल्ने बताए।
उनले ओलीले संविधान डिरेल गरेका कारण गठबन्धन बनेको बताए। उनले पार्टीका स्थापक नेता विपी कोइरालाले कम्युनिस्टहरूसँग चुनावी तालमेल गर्नुहुँदैन भनेको कुरा पनि स्मरण गराए।
२०६४ को संविधान सभाको निर्वाचन, ७० को निर्वाचनमा तालमेल गरेन। आज कांग्रेस माओवादी, जसपासँग मिलेर किन निर्वाचनमा जानुपर्ने अवस्था आयो ? भनेर उनले प्रश्न गरे।
उनले चुनावी तालमेल गर्दा केन्द्रले हस्तक्षेप गर्न नहुने बताए। उनले भने, 'आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न सकिने भनिएको छ। केन्द्रबाट भागबन्डा गर्ने हो भने कांग्रेसलाई अप्ठ्यारो हुन्छ।'
नेता कोइरालाले सरकारले हालै गरेका नियुक्ति पनि संविधान र समावेशिताको खिलाफमा भइरहेको तर्क गरे । उनले ओम्नीकान्डमा मुछिएका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा किन नियुक्त गरेकोमा आपत्ति जनाए।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले संघीय निजामती एने २०८९ सालमा आउने बताएका छन्। उनले भने, ऐन 'अध्यादेशको रूपमा आयो त्यसमा कर्मचारीको हकहितको रूपमा थिएन। युनियनको प्रयासमा रोकियो। ऐन आउन ढिला भयो भने युनियनले खबरदारी गर्नेछ।'
उनले कर्मचारी जबरजस्ती समायोजन गर्न नहुने बताए। गएका कर्मचारीलाई संघमा समायोजन गर्नुपर्ने भन्दै अदालतको फैसला तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ। संघीय चुनाव अघि नै निजामती कर्मचारीको चक्रीय प्रणालीको आधारमा सरुवा हुनुपर्ने उनले बताए।
चैत २९, २०७८ मंगलबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।