फलेवास निर्वाचन : उत्साहित कांग्रेस, डर-डरमा एमाले, अलमलमा माओवादी

पर्वत : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै पर्वतमा चुनावी सरगर्मी बढ्न थालेको छ। वैशाख ३० मा हुने निर्वाचनमा टिकट हात पार्न सबै दलका नेता/कार्यकर्ताबीच होडबाजी नै चलेको छ।
दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तह रहेको पर्वतमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल सक्रिय छन्। ती दलका तर्फबाट कसले टिकट पाउने हो भन्ने चर्चा/परिचर्चा सुरु भएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा दलहरू एक्ला-एक्लै चिर्वाचन लडेका थिए। अहिले भने कांग्रेस सहितको पाँच दलीय गठबन्धन र एमाले एक्लै निर्वाचन लड्ने अवस्थामा छन्।
विभाजनको असर वडास्तरसम्म देखिएकोले एमालेलाई यो चुनावमा गाह्रो पर्ने आकलन गरिएको छ। एमालेबाट दुई पटकसम्म सांसदमा उम्मेदवार बनेर पराजय भएका मोति पौडेल अहिले समाजवादीमा लागेर जिल्ला अध्यक्ष बनेकाले पनि एमालेलाई क्षति पुग्ने अनुमान गरिएको छ।
एमाले विभाजनको फाइदा उठाउँदै पर्वतका अधिकांश स्थानीय तहको निर्वाचन आफ्नो पोल्टामा पार्न कांग्रेस, माओवादी लगायतका दलहरु जनतालाई आकर्षित गर्न गाउँ-गाउँ पुगेका छन्। उनीहरुले टोल-टोलमा प्रचारात्मक अभियान चलाइरहेका छन्।
एमाले पनि विगतमा जितेको ठाउँ सुरक्षित गर्न र हारेका ठाउँमा पनि जित्ने योजनाका साथ संगठन विस्तारसँगै प्रचारात्मक अभियानमा जुटेको छ।
निर्वाचनको गतिविधि बढेपछि पर्वतको फलेवास नगरपालिकामा आकांक्षीहरु खुल्न थालेका छन्। फलेवासमा कांग्रेस, एमाले, माओवादीका तर्फबाट झण्डै दर्जन नेताहरूले आकांक्षा देखाएका छन्।
यस्ता छन् एमालेका आकांक्षी
नगरको मेयरका लागि एमालेका तर्फबाट बहालवाला मेयर पदमपाणि शर्मा, उपमेयर मन्जु अधिकारीले आकांक्षा गरेका छन्।
पाँच वर्षको अवधिमा फलेवासलाई नगरपालिकाको स्तरमा रुपान्तरण गर्न आवश्यक पूर्वाधारको जग बसाएको र अब देशकै अब्बल नगर बनाउनका लागि फेरि मेयरको उम्मेदवार बन्न लागेको अहिलेका मेयर पदमपाणि शर्मा बताउँछन्।
उनी भन्छन्, ‘संघीयता लागू भएपछि पर्वतका सबै ग्रामीण भेगलाई समेटर फलेवास नगरपलिका बनाइयो। नगरपालिका बन्नका लागि न्यूनतम पूर्वाधार समेत नभएको अवस्थामा मेयरमा निर्वाचित भएकाले पहिलो कार्यकाल पूर्वाधार तयार गर्नमै बित्यो। सीमित स्रोत र साधनका बाबजुद पनि हामीले नगरमा महत्वपूर्ण काम गरेका छौं। कालोपत्रे सडक नै नभएको नगरमा ५० किमी कालोपत्रे सडक बनायौं।’
त्यसैगरी विपन्न श्रमिकका लागि पेन्सन, झण्डै एक दर्जन वडा कार्यालय भवन निर्माण, नगरपालिकाको दस हजार अनुदानमा एकघर एक सौचालय, नगरका सबै ठाउँमा खानेपानी, विद्यालयस्तरमा पाँच कक्षासम्म अंग्रेजी माध्यममा पढाइ, नगरको केन्द्रबाट सबै वडासम्म सडक निर्माण, स्वास्थ्य चौकीमा सेवा विस्तार, बिमा लगायत सयौं योजना सम्पन्न गरेको उनको दावी छ।
राष्ट्रिय नगरपालिका महासंघले विभिन्न सूचकहरुको आधारमा गरेको मूल्यांकनमा उनी उत्कृष्ट दस नगर प्रमुखमा छनोट समेत भएका छन्। नगरपालिका महासंघले विकास निर्माणमा, वतावरणीय पर्यावरण, सेवा प्रवाह लगायतका विभिन्न सूचकका आधारमा देशभरिका पालिकाहरुको मूल्यांकनमा शर्मा उत्कृष्टमा परेका हुन्।
शर्माले कालिगण्डकी बहुउद्देश्यीय जलासय परियोजना, नागरिक लगानी कोषको समन्वयमा श्रमिक कल्याणकारी कोष तथा पेन्सनको व्यवस्था, नगरपालिकालाई ६० रोपनी नि:शुल्क जग्गा प्राप्ति, पर्यटकीय हब, आवास र उत्पादनको क्षेत्र घोषणा, बाहिरी चक्रपथको अवधारणा, भित्री चक्रपथ निर्माणका योजना, सडकको मापदण्ड तयार लगायतका कार्य गरेको दावी गर्दै शर्माले नगरवासीका लागि आवश्यक अन्य विकासका लागि आफू अगामी निर्वाचनमा मेयरमा उठ्न चाहेको दावी गरे।
त्यसैगरी पाँच वर्षमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकाले आगामी निर्वाचनमा मेयरमा आफ्नो स्वभाविक दावेदारी रहेको मन्जु अधिकारी लम्साल बताउँछिन्। आफूले न्यायिक समितिको संयोजक भएर जनतालाई न्याय दिलाउन गरेका कार्यसँगै उपप्रमुखको कार्यसम्पादनलाई मूल्यांकन गरेर पार्टीले दिनुपर्ने उनले बताइन्।
त्यस्तै एमालेबाट नगरपालिकाको प्रमुख बन्नका लागि बैकुण्ठ भुसाल र देवेन्द्रराज पाण्डेको नाम पनि चर्चामा रहेको छ।
कांग्रेसमा आधा दर्जन आकांक्षी
त्यसैगरी कांग्रेसका तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा पराजित नेता गंगाधर तिवारीले आकांक्षा देखाएका छन्। उनले अघिल्लो स्थानीय निर्वाचनमा पराजय भए पनि निरन्तर जनताको पक्षमा खबरदारी गर्दै राजनीतिमा सक्रिय रुपले लागेकाले आगामी निर्वाचनमा मेयरका आकांक्षा देखाएको बताउँछन्।
त्यसैगरी कांग्रेसका तर्फबाट अर्का बलिया उम्मेदवारका रुपमा यज्ञबहादुर थापा देखिएका छन्। लामो समय व्यवसायका लागि काठमाडौं बस्दै आएका थापा राजनीतिमा सक्रिय हुनका लागि अघिल्लो निर्वाचनदेखि पर्वतमा बसेर राजनीति गर्दै आएका छन्।
उनी कांग्रेसका तर्फबाट युवा पुस्ताका मेयरका आकांक्षी हुन्। पर्वतमा रहेर एमालेका गलत क्रियाकलापको भण्डाफोर गर्दै विकास निर्माण र जनताको समस्यामा सहकार्य गर्दै आएकाले अगामी निर्वाचनमा आफूले मेयरमा आकांक्षा देखाएको थापाले बताए।
त्यसैगरी पर्वतमा सक्रिय राजनीति गर्दै आएकी महिला नेतृ राधाकुमारी कुँवर क्षेत्रीले पनि फलेवासको मेयरमा आकांक्षा देखिएकी छिन्। त्यसैगरी शिव सुवेदी, मिलन सुवेदी, मुना भुसाल लगायतको नाम पनि चर्चामा छ।
यीमध्ये यज्ञ, गंगाधर र राधालाई कांग्रेसका नेता/कार्यकर्ताले बलियो उम्मेदवारको रूपमा लिने गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिवारी नगर प्रमुखमै प्रतिस्पर्धा गरेका थिए। राधाको दावेदारी पनि नगर प्रमुखकै रहेको थियो। तर पार्टीले अन्तिममा गंगाधरलाई उमेदवार बनाएको थियो।
अलमलमा माओवादी
नेकपा माओवादी केन्द्रमा भने चुनाव नजिकिए पनि आकांक्षीहरु खुलिसकेका छैनन्। गठबन्धन दलमध्येको दोस्रो ठूलो दल भए पनि माओवादी उम्मेदवारको नाम चर्चामा नल्याई चुनावी प्रचार-प्रसारमा जुटिरहेको छ।
पाँच पार्टीबीच गठबन्धनको चर्चा चलेकाले पर्ख र हेरको अवस्थामा माओवादी देखिएको छ। पाँच दलबीच गठबन्धनको कुरा चलिरहेकाले माओवादीका आकांक्षी भए पनि नाम सार्वजनिक नगरिएको माओवादी फलेवास नगर कमिटीका अध्यक्ष शोभा क्षेत्री बताउँछिन्।
उनी भन्छिन्, ‘पाँच दलबीच गठबन्धन गर्ने केन्द्रमा सहमति भएकाले हाम्रो पार्टीका उम्मेदवारको नाम सार्वजनिक नगरिएको हो। हाम्रो पार्टी दलित, जनजाति र शोषित-पीडित जनताको पक्षमा काम गर्ने भएकाले आकांक्षीमा हानाथाप पनि हुँदैन। उम्मेदवार घोषणा गर्ने बेला तुरुन्त निर्णय लिन्छौं। हामीलाई उमेदवार सार्वजनिक गर्न कुनै समस्या छैन। नगरका सबै वडामा टुंगो लगाइसकेका छौं। मेयर र उपमेयरमा पार्टीले उपयुक्त बेला निर्णय गर्छ।’
नेकपा एकीकृत समाजवादीले फलेवास नगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दावी रहने बताएको छ। समाजवादीका जिल्ला अध्यक्ष मोतिप्रसाद पौडेलेको गृहनगर पनि फलेवास नै भएकाले उनी आफैं पनि नगरको मेयरमा उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको छ।
गठबन्धनबाट आधिकारिक उम्मेदवार तय गर्न गठन गरेको संयन्त्रमा छलफल चलिरहेको बताउँदै पार्टीभित्र पार्टीका जिल्ला अध्यक्ष पौडेल उम्मेदवार बन्न सक्ने समाजवादीकै एक जिल्ला नेताले बताए। उनका अनुसार गठबन्धन दलहरुले आ-आफ्नो जनमत सर्वेक्षण गरेर पार्टीमा बुझाउने र संयन्त्रमा उम्मेदवार दावी गर्ने कुरा भएको ती नेताले बताए।
उनले भने, 'केन्द्रले कस्तो मोडालिटी बनाएर पठाउँछ त्यो पनि पर्खिरहेका छौँ। केन्द्रले तोके अनुसार नै हामीहरूबीच गठबन्धन कायम रहन्छ।’
यस्तो छ निर्वाचनको अंकगणित
२०७४ सालको स्थानीय निर्वाचनमा फलेवास नगरपालिकाको मेयरमा एमालेका तर्फबाट पदमपाणि शर्माले ६ हजार एक सय तीन मत पाएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका गंगाधर तिवारीले ५ हजार सात सय ५५ मत पाएका थिए। गत निर्वाचनमा फलेवासका ११ वटा वडामध्ये ९ वटामा एमालेले जितेको थियो। कांग्रेसले भने दुई वटामात्र वडा जितेको थियो।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन्। त्यसमध्ये फलेवास नगरपालिकामा २३ हजार ५ सय ६५ जना मतदाता रहेका छन्।
कुश्मा नगरपालिकामा सबैभन्दा धेरै ३१ हजार ३ सय १३ जना मतदाता रहेका छन्। जलजला गाउँपालिकामा १६ हजार ३ सय ७४, पैयुमय ११ हजार ६ सय ५, मोदी गाउँपालिकामा १९ हजार ६ सय ७ जना मतदाता रहेका छन्। त्यसैगरी महाशिलामा ८ हजार ३ सय ८२ र विहादी गाउँपालिकामा ११ हजार १ सय ३७ जना मतदाता रहेका छन्।
चैत २९, २०७८ मंगलबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।