जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

धनुषाः प्रहरीले जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ का हाल जनकपुर उपमहानगर–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ का हाल जनकपुर उपमहानगर–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेका छन्।
पेस्तोल बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ उनीहरू गइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।
पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
चैत २९, २०७८ मंगलबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।