पत्रकार महासङ्घको जिल्ला अध्यक्ष माओवादीमा प्रवेश गरे

जनकपुर : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल माओवादी केन्द्र प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आफ्नै निवासमा माला र अबिर लगाएर पार्टीमा प्रवेश गराए।
उनी महासङ्घको अध्यक्ष कायमै छन्। उनी महोत्तरीको मटिहानी नगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारीमा छन्। तर गठबन्धन हुँदा काङ्ग्रेसबाट टिकट नपाउने देखेपछि उनी गठबन्धनकै माओवादीमा प्रवेश गरेका हुन्।
महासङ्घको विधानले सदस्यहरूलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाए पनि पार्टीको निर्वाचनदेखि राष्ट्रिय निर्वाचनसम्म पदाधिकारी नै उम्मेदवार बन्दा पनि महासङ्घ नेतृत्वले कारबाही नगर्दा पदमै रहँदा पनि पार्टीमा प्रवेश गर्ने गरेका छन्।
एमाले, नेपाली कांग्रेस अनि माओवादीको महाधिवेशनमा विभिन्न तहको उम्मेदवार बनेका र प्रतिनिधि बनेकालाई महासङ्घले कारबाही गर्न सकेन। महासङ्घको केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले काङ्ग्रेसबाट उम्मेदवारी घोषणासँगै महासङ्घ छाडेको घोषणा गरे पनि उनी अहिले पनि महासङ्घ पदाधिकारी नै छिन्।
प्रदेश र जिल्लाका पदाधिकारीहरू प्रत्यक्ष राजनीतिमा सक्रिय भए पनि महासङ्घले कारबाही गर्न सकेको छैन।
चैत २८, २०७८ सोमबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।