खनालको कार्यकाल आज सकिँदै, सशस्त्रमा २१ दिने कि दुई वर्षीय आईजीपी ? भन्नेमा सरकार अनिर्णित

काठमाडौं: उमेर हदका कारण सोमबारबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउँदैछन्। तर २१ दिनको आईजीपी चयन गर्ने कि दुई वर्षीय भन्नेमा सरकारले निर्णय गर्न नसक्दा खनालपछि संगठनको नेतृत्त्वमा को आउने भन्ने टुंगिएको छैन।
एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट आईजीपी चयन गरिए २१ दिनपछि पुनः नेतृत्त्व बदलिने छ। यी दुवैको कार्यकाल २१ दिन मात्र छ।
त्यसपछि डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्ये एक आईजीपी हुनेछन्। यदि २१ दिनको नेतृत्त्व नछाने सिधै दुई वर्षको छान्न कठिन छ। एआईजी हुँदै डीआईजीलाई आईजीपी बनाउन सशस्त्र प्रहरी बलको ऐनले दिँदैन।
यसअगाडि सशस्त्रमा १५ दिनको लागि समेत किशोर लामा आईजीपी भएकाले केसी र पौडेलमध्ये एक जना आईजीपी हुने सम्भावना छ। जो आईजीपी हुन्छन् उसको बढुवापछि रिक्त हुने पदमा अर्यालसहितका तीनमध्ये एक जनालाई एआईजीमा बढुवा गरेर २१ दिनपछिको संगठनको नेतृत्त्व निश्चित गर्न सक्छ सरकारले।
सोमबार मध्यरातपछि खनालले अवकाश पाउने भएकाले सरकारले आजै नियुक्त गर्ने वा कसैलाई निमित्त समेत दिनसक्छ। आईजीपी नियुक्तिको अधिकार मन्त्रिपरिषद्मा छ। वैशाख १९ बाट नेपाल प्रहरीमा समेत नेतृत्त्व परिवर्तन हुनेछ।
चैत २८, २०७८ सोमबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।