किम जोङको कार्यकाल १० वर्ष पूरा: सैन्य शक्ति बलियो बनाएकोमा शान्तिको रक्षक भनेर प्रशंसा

एजेन्सीः उत्तर कोरियाले आणविक हतियारको विकासमा आफ्ना सर्वोच्च कमाण्डर किम जोङ उनको नेतृत्त्वको प्रशंसा गरेको छ। किमले सत्तारूढ वर्कर्स पार्टी (डब्ल्यूपीके) को नेतृत्त्व गरेको १० वर्ष पुगेको अवसरमा उत्तर कोरियाले उनको नयाँ पोर्ट्रेट र प्रदर्शनीहरूको अनावरणसहित उनको राजनीतिक उपलब्धिहरू सार्वजनिक पनि गरेको छ।
सन् २०११ को डिसेम्बरमा आफ्ना पिता किम जोङ इलको मृत्युपछि नै सेनाको सर्वोच्च कमाण्डर नियुक्त भएका उन पार्टी र राज्यको शीर्ष नेता चयन भएको भने सोमबार १० वर्ष पूरा भएको छ। एकदलीय उत्तर कोरियाको इतिहासदेखि नै किम परिवारले शासन गर्दै आएको छ।
आइतबार भएको राष्ट्रिय बैठकमा सम्बोधन गर्दै डब्ल्यूपीके केन्द्रीय समितिको राजनीतिक ब्यूरोको अध्यक्ष मण्डलका सदस्य र किमको नेतृत्त्वमा सबैभन्दा वरिष्ठ अधिकारीहरूमध्येको एक चो र्योङ हेले उनलाई “प्रतिभाशाली विचारक, सिद्धान्तकार, उत्कृष्ट राजनीतिज्ञ र उत्कृष्ट कमाण्डर“ भनेर प्रशंसा गरेका थिए।
हेले उत्तर कोरियालाई आवश्यक पर्ने आत्मरक्षाका सबै शक्तिशाली भौतिक साधनहरूले सुसज्जित पूर्ण सैन्य शक्ति बनाएकोमा उनलाई एक अद्वितीय देशभक्त र शान्तिको महान रक्षक समेत भनेका थिए।
शुक्रबारदेखि सुरु भएको कार्यक्रममा उत्तर कोरियाका संस्थापक तथा किम जोङ उनका हजुरबुवा किम इल सुङको ११०औं जन्मोत्सव समेत मनाइएको थियो।
यस्तै कमर्शियल स्याटेलाइट इमेजरीले उत्तर कोरियाली सेनाले यो साता गर्न सक्ने सैन्य परेडको लागि अभ्यास गरिरहेको पनि देखाएको छ। यता विश्लेषकहरूले यसलाई उत्तर कोरियाले आफ्नो आईसीबीएम (अन्तरमहाद्विपीय ब्यालिस्टिक मिसाइल) प्रदर्शन गर्नसक्ने संकेत रहेको बताएका छन्।
उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक गत महिना आईसीबीएम परीक्षण गर्दा समेत सियोल, टोकियो र वाशिङ्गटनमा खतराको घण्टी बजेको थियो।
यस्तै उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा नयाँ भौतिक निर्माणहरू समेत भइरहेको देखिएकाले सन् २०१७ यता पुनः विस्फोटको खतरा बढेको छ। गत साता मात्र उत्तर कोरियाले युद्धको विरोध गरे पनि दक्षिण कोरियाले आक्रमण गरेमा आणविक हतियार प्रयोग गर्न नहिच्किचाउने बताएको थियो।
किम जोङ उनको नेतृत्त्वमा उत्तर कोरियाले आफ्नो ६ वटा आणविक परीक्षणहरूमध्ये चार वटा सञ्चालन गरिसकेको छ। विशाल आईसीबीएमहरू पनि विकास गरिसकेको छ। ती आईसीबीएमहरू अमेरिकामा कहीँ पनि प्रहार गर्न सक्षम हुनसक्ने विश्लेषकहरूको विश्वास छ।
किमले त्यहाँका बासिन्दाहरूको जीवन सुधार गर्ने र अर्थतन्त्रलाई बढावा दिने बाचा गरेका छन्। तर, हालका वर्षहरूमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू, कोभिड- १९ सँगै गर्नुपरेका लकडाउन र खराब मौसमका कारण यसले ठूलो कठिनाइको सामना गर्नुपरेको बताइएको छ।
संयुक्त राष्ट्र संघका एजेन्सीहरूले भने सम्भावित मानवीय संकटको चेतावनी समेत दिएका छन्।
चैत २८, २०७८ सोमबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।