एसएसबीले जाँच पास गरेको कन्टेनरबाट १० हजार किलो चिनी बरामद

एसएसबीले जाँच पास गरेको कन्टेनरबाट १० हजार किलो चिनी बरामद
तस्बिर: मलङ्गवा सीमा नाका

सर्लाहीः भारतबाट धान लिएर आएको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद भएको छ। कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा उक्त परिमाणको चिनी बरामद भएको हो।

भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले बताए। कन्टेनरको अगाडि धान राखेर भित्र चिनी राखिएको अवस्थामा फेला परेको उनले बताए।

कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको छ।

सर्लाहीको हरिवनमा धान लिएर जाँदै गरेको कन्टेनरका चालकलाई भने तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ।

भारतीय कस्टम सोनबर्सा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट चिनी बरामद भएको हो।

चैत २८, २०७८ सोमबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।