काठमाडौं महानगरमा विवेकशीलका उम्मेदवार: मेयरमा समीक्षा, उपमेयरमा कीर्ति

काठमाडौंः विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरूको टुंगो लगाएको छ। दुवै पदमा विवेकशील साझाबाट महिलाहरूले प्रतिस्पर्धा गर्ने भएका छन्।
जसअनुसार पार्टीले मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 'देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ' भन्ने नाराका साथ दुई जना महिला उम्मेदवार अघि सार्ने निर्णय गरेको हो।
मेयर पदकी उम्मेदवार बाँस्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्वसञ्योजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बाँस्कोटाले कानूनमा स्नातकोत्तर गरेकी छिन्। यसअघि उनी काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभाको उम्मेदवार समेत बनेकी थिइन्।
यता कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्त्वदायी भूमिकामा छिन्।
चैत २८, २०७८ सोमबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।