साझा उम्मेदवारलाई मतदान गर्न गठबन्धनको अपिल, तालमेलको मोडेल भोलि टुंग्याउने सहमति

काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।
आज बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलको मोडलबारे भने गठबन्धनको भोलि बस्ने बैठकले टुंगो लगाउने निर्णय गरेको छ।
सत्ता गठबन्धनका शीर्ष नेता नेपाली कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल, एकीकृत समाजवादीका झलनाथ खनाल, जनता समाजवादीका अशोक राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरी गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्न मतदातालाई अपिल गरेका छन्।
अपिलमा देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरिएको छ।
आगामी वैशाख ३० गते हुने चुनावमा देशभर गठबन्धन गर्ने र चुनावी तालमेलको मोडालिटीको बारेमा भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच कुरा नमिलेपछि संयुक्त अपिल जारी गरिएको हो।
चैत २८, २०७८ सोमबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।