राजेन्द्र लिङ्देनको दाबी : बैङ्कमा पैसा छैन, नेताको घरमा छ

राजेन्द्र लिङ्देनको दाबी : बैङ्कमा पैसा छैन, नेताको घरमा छ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार हेटौँडामा भएको वृहत् कार्यकर्ता भेललाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको दाबी गरे। 

‘बैङ्कमा पैसा छैन। तर, नेताको घरमा छ। कांग्रेस, एमाले माओवादीले देश टाट पल्टाए, बैदेशिक ऋण अनुत्पादक क्षेत्रमा लगानी भयो।’, उनले मुलुक असफल राष्ट्रको बाटोमा गएको बताए।‘ नेपाललाई श्रीलंका बनाउन खोजियो। कांग्रेस एमाले माओवादीलाई असफल हुने छुट छ। मुलुक असफल बनाउने छुट छैन।’, उनले देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको दाबी गरे।

मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको उनको ठम्याइ थियो। ‘ठिक पार्टी र ठिक नेता चिन्न नसकेकोले जनताले दुख पाए। १५ बर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आस अब नगरौँ।’, उनले पार्टी प्रमुख वा प्रधानमन्त्री २ पटक नेतृत्व गर्दा पनि केही गर्न नसक्नेलाई फेरि मौका दिन नहुने दाबी गरे।

लिङ्देलले कम्युनिस्टहरुले राज परिवारबारे गलत प्रचार गरेको आरोप समेत लगाए। राज परिवारबारे कम्युनिस्टका नेताहरुले दुष्प्रचार गरेर आफू महान देखाउन खोजेको उनको दाबी थियो । ‘कम्युनिस्ट नेताहरुले राजा, राज परिवारबारे दुष्प्रचार गरेका थिए, राजाले स्वीजरल्याण्डको बैङ्कमा अर्बौँ रकम र सुन लगेर राखेका छन्। 

त्यो नेपाल ल्याउन सकियो भने, प्रत्येक नेपालीको चार बिगाह जग्गा र सुन किन्न सक्छन्।’ उनले भने, ‘आज राजाको शासन नभएको १५ बर्ष बितिसकेको छ, स्वीजरल्याण्डको बैङ्कमा कति रकम रैछ, राजाको खुलासा हुन सकेको छ?’भेलामा करिब सात सय जना राप्रपा प्रवेश गरेको दाबी गरिएको छ।
 

चैत २७, २०७८ आइतबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।