तालमेल गर्दा स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने गठबन्धनको निर्णय

काठमाडौँ : सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ।
संयन्त्रको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई बलियो बनाउने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएको हो।
संयन्त्रको बैठकले गठबन्धन दलहरुका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गर्ने सुझाव शीर्ष नेताहरूलाई दिने निर्णय गरेको छ। त्यस्तै प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय गठबन्धनको बैठक राखेर सहमति कायम गरी केन्द्रमा पठाइसक्नुपर्ने सुझाव संयन्त्र बैठकको छ।
संयन्त्रको बैठकले गठबन्धनका तर्फबाट शीर्ष नेतृत्वले स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपील जारी गर्ने सुझाव दिएको छ। संयन्त्रमा कांग्रेसबाट सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार शीर्ष नेताहरुको बैठक बस्ने जानकारी दिए।
शीर्ष नेताहरुको बैठकले काग्रेस नेता पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्र गठन गरेको थियो।
चैत २७, २०७८ आइतबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।