फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बढाए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौँ : विभिन्न पार्टीमा आबद्ध विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन्। संयुक्त विद्यार्थी सङ्गठनले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।
विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवम् माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी मजदुर लगायत आम जनसमुदायमा जनजीवन धान्नै नसक्ने गरी कष्टकर बन्नु अघि नै समाधान निकाल्न तथा विद्युत् लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन माग गरेका छन् ।
आर्थिक सङ्कट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट आफूहरूलाई हामीलाई कदापि मान्य नहुने भन्दै आउने बजेटमा शिक्षा एवं विज्ञान प्रविधि जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न विद्यार्थी सङ्गठनहरुले सरकारसँग माग गरेको छ । यसको साथै निकट रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई संयुक्त विद्यार्थी सङ्गठनले अपिलसमेत गरेको छ ।
बैठकमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैठौं अध्यक्ष देवेन्द्र कुँवर सहभागी थिए।
चैत २७, २०७८ आइतबार २०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।