एक साता विलासी सामानको एलसी नखोल्ने बैंकर्स सङ्घको निर्णय

काठमाडौँ : नेपाल बैंकर्स सङ्घले एक हप्तासम्म विलासी वस्तुहरूको प्रतितपत्र नखोल्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैङ्कले सबै बैङ्कका सिइओलाई बोलाएर यस्तो निर्णयका लागि आग्रह गरे पनि औपचारिक सूचना भने जारी भएको छैन।
औपचारिक सूचना जारी नभएपछि सङ्घको बैठक बसेर आइतबारबाट एक साताका लागि एलसी नखोल्ने निर्णय गरेको हो। वैशाखमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णयसँगै एक हप्तासम्म अत्यावश्यक बाहेकका वस्तुहरूको एलसी नखोल्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिएर विदेशी मुद्राको सञ्चित घटेपछि राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका सिइओहरुलाई बोलाएर विलासिताका वस्तुहरूको एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो।
लिखित निर्देशन नआए पनि गभर्नरको मौखिक निर्देशनको आधारमा अधिकांश बैङ्कहरूले एलसी खोल्ने काममा कडाइ गरिसकेका थिए। अब सङ्घले नै निर्णय गरेपछि खाद्यान्न, औषधी लगायतका अत्यावश्यक वस्तु बाहेक अन्य सामानको आयात एक साताका लागि रोकिने भएको छ।
चैत २७, २०७८ आइतबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।