हारेको झोकमा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोले मागे माफी

हारेको झोकमा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोले मागे माफी

काठमाडौँ : क्रिष्टियानो रोनाल्डोले अप्रिल ९ मा गुडिसन पार्कमा म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएपछि एभर्टनका फ्यानसँग भएको झगडाका लागि माफी मागेका छन्। प्रिमियर लिगको भिडन्तमा आफ्नो पक्ष हारेपछि खेलमैदानबाट बाहिर निस्किने क्रममा रोनाल्डोले घरेलु टोलीका एक समर्थकलाई प्रहार गरेका थिए। 

मोबाइलबाट भिडियो खिच्न खोज्दा रोनाल्डोले ती प्रशंसकको हातमा हान्दा मोबाइल भुईँमा खसेर फुटेको थियो। गुडिसन पार्कमा एभर्टनले रेड डेभिल्समाथि १–० को जित हात पारेपछि रोनाल्डोले प्रशंसकको हातमा हान्दा मोबाइल भुईँमा खसेको फुटेज सामाजिक संजालमा भाइरल भइरहेको छ। 

रोनाल्डोले आफूले गरेको सो व्यवहार प्रति आफ्नो इन्स्टाग्राम मार्फत माफी माग्दै प्रशंसकलाई युनाइटेड खेल हेर्नको लागि निम्तो पनि दिएका छन्। उनले लेखेका छन्, 'हामीले सामना गरिरहेका कठिन क्षणहरूमा आफ्नो भावनाहरूलाई नियन्त्रण गर्न एकदमै गार्हो हुन्छ।जे भए पनि हामीले सधैँ आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि उदाहरण बन्न सक्नु पर्छ। म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु। र सम्भव भएमा समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित समेत गर्न चाहन्छु।'

तर, एभर्टनका १४ वर्षीया जेक हार्डिङकी आमा सारा केलीले भने लिभरपूल इको मार्फत रोनाल्डोले आफ्नो छोरामाथि “प्रहार“ गरेको दाबी गरेकी छिन्। उनी भन्छिन्, 'खेल समाप्त भए पछि खेलाडीहरू फर्किने क्रम शुरु भएको थियो। हामी पार्कको अन्तिम तिर थियाैँ। मेरो छोराले सबै खेलाडीहरु फर्किरहेको भिडियो गरिरहेको थियो। रोनाल्डो भने एक छिन आफ्नो मोजा तल तान झुकेको थियो। उसको खुट्टामा रगत बगिरहेको थियो। त्यत्तिकैमा मेरो छोराले आफ्नो फोन पनि झुकाएको थियो। उसले केहि बोलेको पनि थिएन। त्यसपछि रोनाल्डो एकदमै आक्रोशित र डरलाग्दो भएर अगाडी बढ्यो र मेरो छोराको हातबाट मोबाइल खोसेर भुईँमा फल्दियो।'

केलीले इकोसँग आफ्नो छोराको हातमा लागेको चोटपटकको तस्बिरहरू समेत प्रकाशित गरेकी छिन्। पहिलो फुटबल खेल प्रत्यक्ष हेर्न आएको बताउँदै उनले आफ्नो छोरा सँगै आफैलाई पनि उक्त घटनाले स्तब्ध बनाएको बताएकी छिन्। 'म बुझ्छु कि जेकले उसलाई देखेर हात हल्लाइरहेको थियो तर ऊ टाढा नै थियो र आफ्नो चोट नियाल्न भुईँ झुकेको थियो। जेक एउटा चंचल बच्चा हो र यसलाई एक एक फुटबल खेलाडीले आक्रमण गरेको छ।'

मर्सीसाइड प्रहरीका प्रवक्ताले भने उक्त घटनाको अनुसन्धान भइरहेको बताएका छन्। प्रहरीका अनुसार खेलाडीहरू दिउँसो २.३० बजे खेल मैदानबाट बाहिर निस्कने क्रममा एक जनाले केटालाई आक्रमण गरेको जानकारी प्राप्त भएको थियो। 

चैत २७, २०७८ आइतबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।