ब्यारेकमा बस्ने सेनालाई आधुनिक हतियार, फिल्डमा खटिने सशस्त्रलाई थोत्रो

काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पाँच सय नाल इन्सास राइफल हस्तान्तरण गरे। कार्यक्रममा लाइट सपोर्ट ९० नाल समेत हस्तान्तरण गरिएको थियो।
नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मन्त्रिपरिषद्को २०७८ चैत्र २४ को निर्णय अनुसार सेनाले सशस्त्रलाई सेनाले पैसा नलिई नौ हजार थान ईन्सास राइफल, एक हजार ६ सय लाइट सपोर्ट विपन्स गरेर १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ।
त्यही योजनाको पहिलो चरणमा आइतबार पाँच सय ९० नाल हतियार हस्तान्तरण गरिएको हो। असार २१ गते नेपाली सेनाले जङ्गी अड्डामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानसेनापति पूर्णचन्द्र थापाले १० हजार थान हतियार प्रहरीलाई दिने सहमति गरेका थिए।
सेनाले प्रहरीलाई इन्सास, एसएमजी, एलएमजी र त्यसका गोलीगठ्ठा दिने सहमति गरेको थियो। यसमा ७ हजार थान इन्सास राइफल थिए।
सशस्त्र प्रहरी अर्ध सैनिक बल भएकाले उसलाई ठुला हतियारको आवश्यकता पर्छ नै। तर प्रहरीका लागि कम घातक र साना हतियार आवश्यक भए पनि सेनाको बलमा सरकारले उसलाई लडाइमा प्रयोग हुने इन्सास लगायतका हतियार लिन बाध्य गराएको थियो। सशस्त्र नेतृत्व नयाँ आधुनिक हतियार किन्ने पक्षमा थियो। तर सेनाको अवरोधका कारण उसले प्रयोग गर्दै आएको थोत्रो हतियार लिन बाध्य भयो।
सैनिक जनसम्पर्क निर्देशनालयले दुवै प्रहरी सङ्गठनलाई निःशुल्क हतियार दिएको भने पनि आफूले नयाँ र आधुनिक हतियार किन्न दुवै प्रहरी सङ्गठनलाई कम प्रभावकारी पुराना हतियार भिडाएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सङ्गठनलाई चाहिने हतियारको सूची गृहमा बुझाएको थियो।
सशस्त्रले आधुनिक र हलुका हतियारमा जोड दिएको थियो भने प्रहरीले पेस्तोल लगायतका साना हतियारको माग गरेको थियो। सेनाले सङ्गठन आधुनिकीकरण गर्ने भन्दै सरकारसँग बजेट मागिरहेको थियो। उता अन्य २ सुरक्षा सङ्गठनले पनि हतियार मागेको जानकारी पाएपछि सैनिक नेतृत्वले आफूसँग भएको पुराना हतियार दुवै सुरक्षा सङ्गठनलाई दिएर आफूले नयाँ किन्ने प्रस्ताव अगाडि बढायो र सरकारले मन्त्रीपरिषद्बाट पनि पारित गर्यो।
ब्यारेकमा बस्ने सेनालाई आधुनिक हतियार, फिल्डमा खटिने सशस्त्रलाई थोत्रो
नेपाली सेनाले आफूसँग भएको इन्सास राइफल लगायतका पुराना २० हजार थान हतियार प्रहरी र सशस्त्रलाई दिएर त्यसबापत सरकारसँग २ अर्ब लिएर आधुनिक हतियार किन्दैछ। २ चरणमा गरेर सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउने रणनीति अनुसारै पुराना हतियार प्रहरी सङ्गठनलाई भिडाएको हो। सेनाका लागि सरकारले २ अर्ब बढी बजेट छुट्ट्याएर एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने योजना छ।
सेनाले दिएको हतियार दुवै सङ्गठनको आवश्यकता हैन। तर सरकारले साथ नदिँदा दुवै सङ्गठनका अधिकारीहरू लुरुलुरु सैनिक हेडक्वाटर पुगेर हतियार बुझ्न बाध्य छन्। उनीहरू यसबारे औपचारिक टिप्पणी समेत गर्न डराउँछन्।
'आधुनिकीकरण भन्दै सेनाले नयाँ हतियार किन्न आफ्ना पुराना हतियार व्यवस्थापन गरेको प्रस्टै छ,' सशस्त्रका एक अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने' नयाँ हतियारले सङ्गठनको आधुनिकीकरण हुन्छ भने पुरानो हतियारले के हुन्छ आफैँ बुझ्नुस्।'
इन्सासलाई भरपर्दो हतियार मान्दैनन् सुरक्षा सङ्गठनका अनुभवीहरू। भारतमा बनेको यो हतियार बोक्दा सशस्त्र विद्रोहमै सुरक्षा सङ्गठनका सदस्यले पटक-पटक धोका पाएको हतियार हो यो।
इन्डियन स्मल आर्मस् सिस्टम(इन्सास) सन् १९८८ बाट भारतीय सेनाले प्रयोग गर्दै आएको थियो। अहिले भारत सरकार आफैँ यो हतियार विस्थापित गर्ने योजनामा छ।
बोर्डरमा खटिने सुरक्षाकर्मीका लागि इन्सासको स्थानमा २ लाख नयाँ हतियार किन्ने तयारी गरेको दि इकोनोमिक्सटाइम्सले उल्लेख गरेको छ। यसको कारण यो लामो दुरीमा प्रभावकारी नहुने उल्लेख छ।
भारतीय सेनाले यो हतियार सन् १९९९ को कारगिल युद्धमा प्रयोग गरेको थियो। सशस्त्र प्रहरी अहिले सीमा सुरक्षामा खटिएको छ। विशिष्ट व्यक्तिको सुरक्षा लगायतका जिम्मा समेत सशस्त्रलाई नै तोकिएको छ। आतङ्कवाद अनि आन्तरिक विद्रोहसँगै विरोध प्रदर्शनमा प्रहरीको सहयोगीको रूपमा खटिने फौजलाई पुरानो हतियार दिनुको उद्देश्य आवश्यकता भन्दा पनि सेनाको भन्डारमा नयाँ हतियार भित्र्याउनु नै देखिन्छ।
पेस्तोल दिनुपर्ने प्रहरीलाई युद्धकालीन हतियार
प्रहरीले कम घातक हतियारको प्रयोग गर्नु विश्वव्यापी मान्यता हो। त्यसका लागि उसलाई कम क्षति गराउने साना हतियारहरूमा जोड दिइन्छ। तर सेनाका लागि नयाँ हतियार किन्न प्रहरीलाई जवर्जस्ती सैनिक हतियार भिडाउन सहमत भयो सरकार। जबकि उनीहरूको माग ठुला भन्दा पनि साना हतियारहरू नै हो।
विशेष व्यक्ति र निवासको सुरक्षासँगै स्पेसल टाक्स फोर्समा कार्यरत प्रहरीले ठुला हतियार प्रयोग गर्ने गरे पनि पुग्दो हतियार रहेको एक प्रहरी अधिकारीले उकेरालाई बताए।
'जुन कामका लागि ठुला हतियार बोक्नुपर्ने हो त्यो सङ्गठनसँग छ,' ती अधिकारीले भने' अहिले सङ्गठनलाई चाहिने साना हतियार अनि भिड नियन्त्रणमा प्रयोग हुने टियर ग्याँसहरू हुन्। सरकारले समयमै टियरग्याँस किन्न बजेट नदिँदा म्याद सकिएका प्रयोग गर्नु परिरहेको छ। उता सेनाबाट हतियार बोकेर गोदाममा थन्काउनु परेको छ।'
दैनिक नागरिकसँग घुलमिल भएर काम गर्नुपर्ने प्रहरी अनि अर्ध सैनिक बल सशस्त्रलाई एकै प्रकृतिको हतियार दिनुले पनि त्यो आवश्यकताको आधारमा हो या सैनिक नेतृत्वको स्वार्थका आधारमा हो भन्ने प्रस्ट देखिन्छ नै।
प्रहरीलाई नागरिक मैत्री बनाउने र अर्ध सैनिक बल सशस्त्रलाई विमानस्थल लगायतका ठुला संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा अनि आन्तरिक विद्रोह र आतङ्कवाद विरुद्ध परिचालन गर्न गठन गरिएको थियो। तर सरकारले सेनाको स्वार्थ अनुसार भिन्न प्रकृतिका सङ्गठनलाई एकै प्रकृतिको हतियार दिएर आफैँले तोकेको जिम्मेवारीमा विरोधभाषपूर्ण काम गरेको छ।
सधैँ नयाँ सेनालाई, थोत्रो प्रहरीलाई
सेनाले नयाँ हतियार किनेर प्रहरी सङ्गठनलाई पुराना हतियार दिएको यो पहिलो पटक हैन। यस्तो काम पटक-पटक भएका छन्। २०२० मा सेनामा रहेको थ्रिनटथ्री हतियार प्रहरीलाई दिएर उसका लागि नयाँ हतियार किनियो। २०२७ मा सेनाले एसएलआर किन्यो अनि थ्रिनटथ्री प्रहरीलाई दियो। माओवादी सशस्त्र द्वन्द्वताका इन्सास र एसएलआर प्रहरीलाई दिइयो। अहिले इन्सास, एसएमजी र एलएमजी दिएर सेना आधुनिक अमेरिकी हतियार किन्दैछ।
चैत २७, २०७८ आइतबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।