पाकिस्तानमा मध्यरातमा ढल्यो इमरानको सरकार, इस्लामावादमा सेना तैनाथ, कुनै नेता देश छोडेर जान नपाउने

एजेन्सीः पाकिस्तानमा इमरान खान नेतृत्त्वको सरकार ढलेको छ। गए राति खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै उनको सरकार ढलेको हो।
योसँगै पाकिस्तानमा एक महिनायता जारी राजनीतिक घम्साघम्सी केही हदसम्म साम्य भएको छ। खानविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए।
यसअघि इमरान खानले आफ्नो सरकार जोगाउन संसद् विघटन गरेर चुनावमा जाने घोषणा गरेका थिए। तर संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालत पुगेपछि बिहीबार अदालतले संसद् विघटनको निर्णय खारेज गरेको थियो।
गए राति पनि आफ्नो सरकार बचाउन इमरान खानले हरप्रयास गरेका थिए। उनले मतदान प्रक्रियाबाट जोगिनका लागि सभामुख र उपसभामुखलाई नै राजीनामा गराए। तर विपक्षीले नयाँ सभामुख चयन गरेर भए पनि मतदान प्रक्रिया सुरु गराइछाडे।
मतदानमा इमरान वा उनका समर्थक कोही पनि सामेल भएनन्। कुल ३४२ सांसदमध्ये सदनमा केवल १७४ उपस्थित थिए। उनीहरू सबैले अविश्वास प्रस्तावको पक्षमा मतदान गरे।
यसक्रममा विपक्षी नेता शहबाज शरीफले आफ्ना दाजु तथा पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सम्झिँदै इमरान खानको सरकार ढल्नुलाई नयाँ बिहानी भएको बताए। अब उनै शहबाजको नेतृत्त्वमा नयाँ सरकार बन्ने भएको छ।
यतिबेला राजधानी इस्लामावादमा सेना तैनाथ गरिएको छ। पाकिस्तानका कुनै पनि नेता वा सरकारी अधिकारीलाई देश छोड्न एनओसी अर्थात् नो अब्जेक्सन सर्टिफिकेट चाहिने व्यवस्था गरिएको छ। अब इमरानले चाहेर पनि देश छोड्न पाउने छैनन। यस्तोमा उनीमाथि कस्तो कारबाही हुनेछ भन्ने प्रमुख चासोको विषय रहेको छ।
पूर्व विश्वकप विजेता क्रिकेटर समेत रहेका खान सन् २०१८ को अगस्ट १८ मा पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए।
चैत २७, २०७८ आइतबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।