भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदै, आठ रात नौ दिनसम्म धुमधामले मनाइने

भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदै, आठ रात नौ दिनसम्म धुमधामले मनाइने
फाइल तस्बिर

काठमाडौंः भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ। नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ।

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ। रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन्। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पुर्याई जात्रा सम्पन्न गरिन्छ। रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।

जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ। त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ।

रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। 

नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचान गर्ने पूरा तयारी भइसकेको महानगरीय प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार जात्राका लागि ९५० नेपाल प्रहरी,  ४०० सशस्त्र प्रहरी परिचालन गरिनेछ।

यस्तै रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यानसमेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुथी र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको छ।

चैत २७, २०७८ आइतबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।