एमाले ढक हो कि क्वीन्टल आगामी निर्वाचनमा देखाइदिन्छौँ : नेता खनाल 

एमाले ढक हो कि क्वीन्टल आगामी निर्वाचनमा देखाइदिन्छौँ : नेता खनाल 

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्। शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए। 

नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे। उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देश निर्देशन दिए। खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने बताए। 

उनले भने,  ‘हाम्रा सामु अव निर्वाचनको घोषणा भएको छ। हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं। केपी ओलीले के भनेछन भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरूलाई चाँही ढक। म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईँको पार्टी ढक हो कि तपाईँको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाँही टन हो, यहाँ आएर हेर्नेस। एमाले ढक हो कि क्वीन्टल आगामी निर्वाचनमा देखाइदिन्छौँ। प्रत्येक जिल्लामा गएर हेर्नुस्। अब एकीकृत समाजवादी टन मात्रै होइन, दसौँ टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु। हामीहरु जसरी यो निर्वाचनमा जाँदैछौं। यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं। त्यो घोषणा पत्रलाई हामीले घर–घरमा, टोल–टोलमा लिएर जान सक्नुपर्दछ। तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो। निर्वाचन आयोगले भर्खरै आचारसंहिता घोषणा गरेको छ।'

चैत २६, २०७८ शनिबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।