लाइभमा अफ दि रेकर्ड भन्दै शशाङ्कले भने' चुनावमा ६-७ करोड खर्च हुन्छ, कोही आए छाड्दिन्छु

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा सांसद शशाङ्क कोइरालाले २०७४ को निर्वाचनमा आचारसंहिता उलङ्घन गरेको स्विकारेका छन्।
लाइभ भइरहेको कार्यक्रममा उनले निर्वाचन आयोगले तोकिदिएको खर्चको सीमा नाघेर खर्च भएको बताएका हुन्। उनले कार्यक्रममा अफ द रेकर्ड जानकारी त भनेका थिए। तर सार्वजनिक कार्यक्रम जुन फेसबुकमा लाइभ भइरहेको थियो।
गत निर्वाचनमा आयोगले प्रतिनिधि सभाको उम्मेदवारको खर्चको सीमा २५ लाख तोकेको थियो। शनिवार नेविसंघ इलाम-काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा उनले २०७४ को निर्वाचनमा ६ करोड खर्च भएको दाबी गरेका थिए।
उनले कार्यक्रममा हरेक चुनाव महँगो भएको उदाहरण दिन आफ्नो खर्चको रकम सार्वजनिक गरेका हुन् जुन आयोगबाट कारबाही योग्य स्वीकारोक्ति हो।
कोइरालाले आफ्नो पहिलो चुनावमा ८० हजार रुपैयाँ,दोस्रो चुनावमा तीन करोड र २०७४ को चुनावमा ६ करोड खर्च भएको र आगामी चुनावमा ६-७ करोड खर्च हुने दाबी गरे।
'तपाईँहरू कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट? म छोड्न तयार छु। कम्तीमा ६/७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ,' उनले भने।
चैत २६, २०७८ शनिबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।