मन्त्री श्रेष्ठद्वारा मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण

मन्त्री श्रेष्ठद्वारा मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण
फाइल तस्बिर

मकवानपुरः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छिन्। राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन्।

मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन्। उनले भनिन्, “भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो। सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ।”

सोही कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताएकी थिइन्। उनले निर्वाचन नजिकिँदै गर्दा भ्रम छर्ने काम भइरहेकाले मान्छे चिन्न जनतालाई आग्रह गरिन्।

गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखे पनि सरकारी अनुमति नपाउँदा लालपुर्जा वितरण गर्न सकेको थिएन। उक्त गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छन्।

चैत २६, २०७८ शनिबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।