'जलवायु परिवर्तन नियन्त्रण गर्नसके एक करोड ३० लाख मानिसको ज्यान बचाउन सकिने'

'जलवायु परिवर्तन नियन्त्रण गर्नसके एक करोड ३० लाख मानिसको ज्यान बचाउन सकिने'

काठमाडौंः विश्व स्वास्थ्य दिवसको अवसरमा 'प्रदूषण र त्यसले स्वास्थ्यमा पर्ने असरहरू' सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। डाँफे केयरले आस्क फाउण्डेसनसँगको सहकार्यमा “हाम्रो ग्रह, हाम्रो स्वास्थ्य“ भन्ने नाराका साथ गोष्ठी आयोजना गरेको थियो।

बिहीबार सम्पन्न गोष्ठीमा जलवायु परिवर्तनले निम्त्याएका र निम्त्याउन सक्ने असरहरूको बारेमा चर्चा भएको थियो। यसको प्रभावले अन्तर्राष्ट्रिय स्तरमा पार्नेसक्ने असर, सार्न सक्ने संक्रामक रोग, मानसिक स्वास्थ्य र श्वासप्रश्वासमा  पार्न सक्ने असर लगायतका कुराहरूबारे चर्चा भएको थियो। 

'कोभिड महामारीको कारणले ओझेलमा परेको जलवायु परिवर्तन सम्बन्धी मुद्दा गत वर्ष ग्लास्गोमा भएको 'संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन’ ले पुनः उठान गरे पनि रुस र युक्रेनको युद्धले फेरि ओझेलमा परिरहेको छ', जलवायु परिवर्तनका सम्बन्धमा लामो समयदेखि वकालत गर्दै आएका धर्मा केसी भन्छन्, 'हामीले कुनै हालतमा पनि जलवायुको मुद्दा ओझेलमा पर्न दिनु हुँदैन। सन् २०३० मा जसरी भए पनि हरेक राष्ट्रका मानिसहरूले पृथ्वीको तापक्रम १ दशमलव ५ भन्दा कम पार्नैपर्छ।'

हिमालको हिउँ जुन स्तरमा पग्लिरहेको छ त्यसलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। 

लगभग १ लाख २१ हजार नेपालीहरू देशभित्रै विस्तापित भइहेको नयाँ जनगणनाले देखाएको बताउँदै उनले जनस्तर, सरकारी र अन्तर्राष्ट्रिय स्तरबाटै समन्वय गरे मात्र यसको असर विश्वस्तरमा कम हुन सक्ने बताए।

जलवायु परिवर्तनले पारिस्थितिक प्रणालीलाई नै चुनौती दिनसक्ने विज्ञहरूको ठम्याइ छ। 

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीमा सिधै असर गर्छ। सँगै यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि असर गर्ने कोइरालाको दावी छ। यसले मानिसको औसत आयुमा समेत प्रत्यक्ष प्रभाव पार्ने उनले चेतावनी दिए।

कोइरालाका भन्छन्, 'वातावरण प्रदूषणले पूरै स्वास्थ्यमा एकदमै जटिल समस्या गराउँछ। अहिले पानीमा यसले निकै नराम्रो असर गरेको छ।  सिधै पानीको पीसीआर टेस्ट गर्दा पनि कोभिड संक्रमण देखिनसक्छ।'

प्रदूषणकै कारण वन जङ्गलमा समेत व्यापक प्रभाव परेको उनले बताए। वन विनाश भएको कारण जंगली जनावरहरू मानव बस्तिमा पस्न थालेको र उनीहरूले प्रत्यक्ष आफ्नो संक्रमण फैलाइरहेको समेत उनले बताए।

कोइरालाका अनुसार यसको उपयुक्त उदाहरण कोभिड १९ र इबोला भाइरस नै हुन्। त्यस्तै जलवायु परिवर्तनमा तापमान बढेसँगै किराहरू पनि बढ्ने भएकोले मलेरिया र डेंगु पहिला तराई क्षेत्रमा मात्र आउने गरेकोमा अहिले पहाड र हिमालमा पनि देखिन थालेको उनले बताए।

वायु प्रदूषणले फोक्सो सम्बन्धी समस्याहरू निकै बढेको भन्दै डा. रिताम्बरा ओली भन्छिन्, 'यसले फोक्सोको स्वाशप्रस्वाश नलीहरू खुम्च्याउने र सानो पर्ने समेत गर्नसक्छ। वायु प्रदूषणले मात्र हरेक वर्ष विश्वमा ६.६७ मिलियन मानिसहरूको मृत्यु भइहेको छ।'  

डा. ओलीका अनुसार यसले गर्दा आमाको गर्भबाटै शिशुको वृद्धिमा समस्या हुने, बच्चाहरूलाई निमोनिया छिटो छिटो हुने, दम बढ्ने, फोक्सोमा बोसो जम्ने र युवा अवस्थामै हृदयघात र मस्तिष्क घात हुने सम्भावना बढी हुन्छ।

जलवायु प्रदूषणको कारण मानिसको शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि गहिरो असर पुग्ने मानसिक स्वास्थ्य अधिकारी डा. प्रिया पाठक बताउँछिन्। 

यसले मानिसहरूमा तत्काल देखिनेसँगै लामो समयसम्म देखिने मानसिक समस्याहरू देखापरेका छन्।

कसैसँग झर्किने, रिसाउने, डिमेनसिया हुने र डिप्रेसनमा समेत जाने समस्या देखापरेको उनले बताइन्। पाठकका भन्छिन्, 'हामीले जलवायु परिवर्तनलाई नियन्त्रण गर्नसके करिब १ करोड ३० लाख मानिसको ज्यान बचाउन सक्छौं।'

त्यसैगरी गोष्ठीमा इञ्जिनियर तथा र्यापर बालेन शाहले अहिले विकास भनिएका कार्यका कारण प्रदूषण बढेको बताए। बर्खामा ३% मात्र पनि पानी बचाउन सके हामीले सफा पानी पिउन कस्ट गर्न नपर्ने उनको भनाइ थियो।

कंक्रिटको संचरनाहरूले गर्दा पनि प्रदूषण बढाएको भन्दै यसलाई विस्तापित गर्न सके प्रदूषणमा केही कमी आउने उनको भनाइ थियो।

चैत २६, २०७८ शनिबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।