मोरङ कांग्रेसको निर्णय: गठबन्धन गर्ने वा नगर्ने अधिकार स्थानीय समितिलाई

इटहरीः नेपाली कांग्रेस मोरङले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय समितिलाई नै दिने भएको छ। शुक्रबार विराटनगरमा बसेको जिल्ला समितिको बैठकले पार्टीको केन्द्रले गरेको निर्णयअनुसार गठबन्धन गरेर अघि बढ्ने र त्यसको अधिकार स्थानीय समितिलाई दिने निर्णय गरेको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बताए।
यही क्रममा शनिबार स्थानीय समिति, प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय समितिका सभापतिहरूसँग छलफल गरिने उनले जानकारी दिए।
गठबन्धन गर्ने वा नगर्ने विषय आवश्यकताको आधारमा स्थानीय तहको समितिले नै निर्णय गर्ने उनको भनाइ छ। जिल्ला समितिले समन्वयात्मक भूमिका मात्र निर्वाह गर्ने भन्दै उनले जवाफदेहीपूर्ण ढंगले अगाडि बढ्ने धारणा राखे।
यसबीच शुक्रबारकै बैठकले निर्वाचन परिचालन समिति समेत गठन गरेको छ। महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरू, प्रदेश क्षेत्रीय सभापति, पालिका सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिहरू सहितको परिचालन समिति गठन गर्ने निर्णय भएको लिम्बूले जानकारी दिए।
साथै नेपाली कांग्रेसको विधानको धारा १२ (८) (ख) बमोजिम कार्यसम्पादन समिति गठन गरिएको छ। सभापतिले सिफारिस गरेका २५ जनाको नाम जिल्ला समितिले अनुमोदन गरेर समिति गठन भएको हो।
योसँगै कांग्रेसले जिल्ला संसदीय समिति पनि गठन गरेको छ। जसमा जिल्ला सभापति स्वतः संसदीय समितिको सभापति हुने प्रावधान छ।
जिल्लाका पदाधिकारीहरू पदेन सदस्य रहने गरी रमानन्द शाह, रञ्जन थापा, सुशील कोइराला, सुशीला कार्की र मञ्जु श्रेष्ठ सम्मिलित समिति गठन भएको छ।
चैत २६, २०७८ शनिबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।