आइसफल डक्टरको टोलीले बनायो सगरमाथाको दोस्रो शिविरसम्मको बाटो

आइसफल डक्टरको टोलीले बनायो सगरमाथाको दोस्रो शिविरसम्मको बाटो

काठमाडौंः सर्वोच्च शिखर सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्।

लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल डक्टर आङसर्की शेर्पाको नेतृत्त्वमा गएको आठ जनाको टोलीले बाटो बनाएको हो।

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए। यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्याङ प्रयोग गरिएको उनले बताए।

यसअघि सन् २०१८ मा ३२ वटा भर्याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो। दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ।

आधार शिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ।

चैत २६, २०७८ शनिबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।