गण्डकी सरकारले हटायो अस्पताल र ११ जिल्लाका खेलकुद समितिका अध्यक्ष, अदालत जाने तयारी

गण्डकी सरकारले हटायो अस्पताल र ११ जिल्लाका खेलकुद समितिका अध्यक्ष, अदालत जाने तयारी

पोखरा : गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका विभिन्न पदाधिकारीलाई हटाएको छ। सरकारले लेखनाथ स्थित रहेको ससंक्रामक तथा सरुवा रोग अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारी र ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष सहितका पदाधिकारीलाई पदमुक्त गरेको हो।

सरकारले केही दिन पहिले संक्रामक अस्पताल व्यवस्थापन समितिका प्रा.डा.कृष्णप्रसाद पौडेल सहित डा.धुव्र अधिकारी, मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको थियो। त्यसै गरी गण्डकी प्रदेशका खेलकुद मन्त्रालयले पनि केही दिन पहिले ११ जिल्ला कै अध्यक्षलाई स्पष्टीकरण सोधेको थियो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक अस्पताल र खेलकुद समितिका अध्यक्ष सहितका पदाधिकारीलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। यही चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेलसहितका चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने?’ भन्दै २४ घन्टे अल्टिमेटम सहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अध्यक्ष सहितका पदाधिकारीलाई संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति गठना २०७७ बमोजिम हटाउने निर्णय गरिएको प्रवक्ता खड्काले बताए। उनले स्पष्टीकरण सन्तोष जनक नभएकाले खेलकुद मन्त्रालयको सिफारीसमा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष सहितका पदाधिकारीलाई समेत मन्त्री परिषद्ले हटाउने निर्णय गरेको बताए। 
 
प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताललाई एक महिनाअघि प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभरि कै उत्कृष्ट अस्पताल घोषणा गरेको थियो।

पदमुक्त पदाधिकारी अदालत जाने
सरकारले राजनीतिक प्रतिशोध साँधेर हटाएका पधाधिकारीहरु न्यायका लागि अदालत जाने भएका छन्। गठन अनुसार समिति पदाधिकारीको कार्यकाल तीन वर्षको हुने भए पनि सरकारले बीचमै कार्यकाल नपुग्दै पदमुक्त गरेपछि पदाधिकारी अदालत जाने भएका हुन्। 

प्रदेश सरकारले एक महिना अघि प्रदेशभरि कै उत्कृष्ट अस्पताल घोषणा गरेका पदाधिकारीलाई प्रतिशोध साँधेर हटाएको प्रा.डा. कृष्ण प्रसाद पौडेलले बताए। खेलकुद समितिबाट हटाइएका ११ जिल्लाका पदाधिकारी भने सरकारले चुनावपछि नियुक्त गर्ने भएको छ। 
 

चैत २५, २०७८ शुक्रबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।