ढिला भएपनि देशमा विकास हुँदैछ : मन्त्री पौडेल

ढिला भएपनि देशमा विकास हुँदैछ : मन्त्री पौडेल

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धि आवश्यक रहेको औँल्याएका छन्। सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उदेश्यले शुक्रबार देखि काठमाडौँमा जारी दुई दिने नेश्नल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरूले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताएका हुन ।

उनले विदेश जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपाल मै सम्भावनाहरू खोज्नु पर्ने बताए । उनले भने, ‘देशमा ढिला भए पनि विकास हुँदैछ। पूर्वाधार निर्माण भइरहेको छ। दिगो विकासको लक्ष्य अघि बढाइएको छ। अब समृद्धिका लागि युवाहरूले स्वदेशमै सम्भावना देख्नुपर्छ।’

सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे। सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आग्रह गरे। अर्थतन्त्रका आधार स्विकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारी मार्फत नेपालीयुवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएको बताइन। अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरूको सहभागिता बढ्दै गएको जानकारी दिँदै उनले सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ। राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको छ। यसैगरी युवाउद्यमीहरुको अनुभव आदान प्रदान कार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए।

चैत २५, २०७८ शुक्रबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।