पशुपति धर्मशालाको मूलगेटमा सरकारले लगायो ताला

काठमाडौँ : पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल-भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो।
ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। होटलका कर्मचारीले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान नदिएपछि गेटमा ताला लगाएर कोषको टोली फर्केको छ। होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले गेटमै ताला लगाउनु परेको कोषले जनाएको छ।
कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।
यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए। त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए।
चैत २५, २०७८ शुक्रबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।