अब अनलाइनबाट मात्रै संस्थागत श्रम स्वीकृति दिइने

अब अनलाइनबाट मात्रै संस्थागत श्रम स्वीकृति दिइने

काठमाडौंः वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृति अब अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ।कार्यालय प्रमुख रमेश अर्यालका अनुसार आगामी वैशाख २ गतेदेखि अनलाइनबाट मात्र संस्थागत श्रम स्वीकृति दिइने भएको हो।

कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएकोमा संस्थागत श्रम स्वीकृतिका लागि अब कार्यालयमा भौतिकरूपमा उपस्थित हुन नपर्ने भएको हो। म्यानपावर व्यवसायी वा उनीहरूका प्रतिनिधि संस्थागत स्वीकृति लिन  कार्यालय आउने गरेका छन्।

यसअघि नै कार्यालयले पुनः श्रम स्वीकृति गत माघदेखि नै अनलाइन प्रणालीबाट मात्र दिँदै आएको छ। यो सेवा सुरु भएसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन्।

कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ।

चैत २५, २०७८ शुक्रबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।