पाल्पाको रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु

पाल्पाः सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु भएको छ। पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य रानीमहल परिसरमा बिहीबारबाट भलिबल प्रतियोगिता सुरु भएको हो।
पहिलो दिन ६ खेल भए। आज शुक्रबार क्वार्टरफाइनलअन्तर्गतका ४ खेल हुनेछन्।
आजको पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनीबीच हुनेछ। दोस्रोमा सुदूरपश्चिम र बागमती र तेस्रोमा नेपाल पुलिस क्लब र कर्णालीबीच खेल हुनेछ।
चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले बताए।
बिहीबार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बिच भलिबलको उद्घाटन गर्दै रानीमहललाई बिच भलिबलको राजधानी बनाउन सकिने बताए। कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए।
महिला बिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु ३० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन्।
चैत २५, २०७८ शुक्रबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।