अष्ट्रेलियाले युक्रेनलाई २० वटा बख्तरबन्द गाडी पठाउँदै

एजेन्सीः अष्ट्रेलियाले युक्रेनलाई २० वटा बख्तरबन्द गाडी दिने भएको छ। अष्ट्रेलियामै निर्मित 'बुसमास्टर' नाम दिइएको बख्तरबन्द गाडी युक्रेन पठाउन लागिएको अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।
फ्रेन्च कम्पनी थालेसको अष्ट्रेलियाली सहायक कम्पनीले निर्माण गरेको उक्त सशस्त्र सवारीमा 'अलिभ ग्रीन' रङ पोतिएको छ। यस्तै छेउमा युक्रेनको झण्डा र 'युनाइटेड विथ युक्रेन' लेखिएको छ।
२० मध्ये दुई बुसमास्टर एम्बुलेन्स हुन्। यसले रेड क्रसको प्रतिक बोक्नेछ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत मार्च ३१ मा अष्ट्रेलियाली संसद्लाई सम्बोधन गर्नेक्रममा यी सवारीहरूको विशेष माग गरेका थिए।
अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयका अनुसार बुसमास्टरले युक्रेनली सेना र युक्रेनी जनतालाई माइन्स र अन्य विस्फोटक उपकरणहरूबाट जोगाउने छ।
चैत २५, २०७८ शुक्रबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।