कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ : नेता कोइराला

मोरङ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस मोरङद्वारा आज विराटनगरको हाटखोलामा आयोजित ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानअन्तर्गत आमसभामा उनले महाधिवेशनको तिक्ततालाई बिर्सेर संयुक्त रूपमा अगाडि बढेमा ७५३ पालिकामध्ये अत्यधिक क्षेत्रमा विजयी हुने दाबी गरे। नेता कोइरालाले सरकारमा गठबन्धन दलहरूबिच निर्वाचनमा तालमेल गरी जाने सम्बन्धमा कांग्रेसका केन्द्रीय कार्यसमितिले जिल्ला र क्षेत्रलाई अधिकार दिएकाले सोहीअनुसार जानुपर्नेमा जोड दिए।
उनले लोकतन्त्रमा मात्र सङ्घीयता फस्टाउने भन्दै लोकतान्त्रिक पार्टी कांग्रेसले सङ्घीयतालाई बलियो बनाउने धारणा व्यक्त गरे। नेता कोइरालाले मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन फजुल खर्चमा कटौती गर्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीले विकासको गति अगाडि बढ्ने धारणा राखे।
पूर्वमन्त्री मीनेन्द्र रिजालले सङ्घीयतालाई कमजोर बनाउने कार्य विगतको सरकारले गरेको विचार राखे। सङ्घीय सांसदद्वय डा डिला सङ्ग्रौला, रमेशजङ्ग रायमाझी र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबै जातजाति, भाषा भाषीको सम्मान गर्ने पार्टी कांग्रेस भएकाले यसले मुलुकको विकास एवं जनताको आर्थिक समृद्धि कायम गर्ने धारणा राखे।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सिंहदरबारको अधिकार घरघरमा पुर्याउने कार्य कांग्रेसले गरेकाले जनतामा यस पार्टीप्रति पूर्ण आस्था र विश्वास रहेको विचार राखे। कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, पूर्वमन्त्री महेश आचार्य, ऊर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, मधुबाबु तिवारी र शोभा पालुङ्वालगायतले कांग्रेस विधिको शासनमा प्रतिबद्ध रहेको विचार राखे।
चैत २४, २०७८ बिहीबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।