नेपाल टेलिकमको कार्यकारी निर्देशकमा सुनिल पौडेल

नेपाल टेलिकमको कार्यकारी निर्देशकमा सुनिल पौडेल

काठमाडौँ : मन्त्रीपरिषद् बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बेलुकासम्म बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको कार्यकारी निर्देशकमा उनको नाम पारित गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार पौडेल सहित टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी सङ्गीता पहाडीको नाम सिफारिस गरेको थियो। पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छन्। टेलिकमको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उनले केन्द्रको पदबाट राजीनामा दिनुपर्नेछ।

डिल्लीराम अधिकारीको कार्यकाल समाप्त भएपछि पुसदेखि टेलिकम नेतृत्व विहीन थियो। बिहीबार नियुक्त भएका पौडेलले १९ वर्षअघि काठमाडौँ इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरेका थिए।

उनी २००४ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रूपमा प्रवेश गरेका थिए। सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका उनी २०१७ मा उप निर्देशक भए। उनी अगस्ट २०१८ देखि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

चैत २४, २०७८ बिहीबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।