युक्रेन आक्रमणको विरोधमा डा.केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने

युक्रेन आक्रमणको विरोधमा डा.केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने

काठमाडौँ : अभियन्ता डा गोविन्द केसीले युक्रेन आक्रमणको विरोधमा रुसी राजदूतावास अगाडी प्रदर्शन गर्न आह्वान गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन्। 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्यविना ६ हप्ताअघिबाट निर्मम तरिकाले सैन्य आक्रमण सुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। जिम्मेवार नागरिक र मानवका हैसियतले यस्तो अमानवीय व्यवहारको मौन प्रदर्शनमा सहभागी हुन् आग्रह गरेका हुन्। 

नमस्ते आदरणिय महानुभावहरु,

रुसी राष्ट्रपति पुटिन ले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का कारण) छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरे । फलस्वरूप बालबालिका, गर्भवती महिलालगायत हजारौं को मृत्यु भएको छ भने ४० लाख भन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन वाध्य भएका छन् । हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् । लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएका छन् ।

यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन ।

त्यसैले भोलि चैत २५ गते शनिवार अपरान्ह २ः३० वजे नेपालस्थित रुसी दूतावास (वालुवाटार, काठमाडौं) अगाडि यो चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सवै महानुभावहरुलाई हार्दिक अनुरोध छ ।  

धन्यवाद ।

डा गोविन्द केसी
२०७८ चैत २४

चैत २४, २०७८ बिहीबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।