श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

कोलम्बो : श्रीलंकाली राष्ट्रपति गोटबाया राजापाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन्। पछिल्लो समयमा श्रीलंका गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। सो संकटको समाधानका लागि उनले आर्थिक विज्ञहरुको समूह नियुक्त गरेका हुन्। 

पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले सो बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन्। उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन्। 

हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्री सहितका सबै मन्त्रीहरुले श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन्। श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ।

श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चैत २४, २०७८ बिहीबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।